काठमाडौँ । नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले तिहारको समयमा काठमाडौं उपत्यकामा मात्रै २५ करोड रूपैयाँ बराबरको फलफूल खपत हुने अनुमान गरिएको बताएका छन् । गत असोजमा आएको अविरल वर्षापछि बाढीपहिरो र नाकामा असहज हुँदा धेरै फलफूल बिग्रिएको र तिहारको लागि अर्डर गरेको फलफूल अझै आइनसकेकाले अघिल्ला तिहारको तुलनामा भने कम खपत हुने उनले जनाए । यद्यपि देशभर करोडौं रुपैयाँको फलफूल बिक्री हुने उनले बताए ।
‘अघिल्ला वर्ष २५/३० करोड रुपैयाँको फलफूल तिहारमा मात्रै बिक्री हुन्थ्यो, यसपालि दसैंमा अर्डर गरेको सामान तिहारमा आइरहेको छ,त्यसैले खपत पनि कम हुने अनुमान छ,’ उनले भने । अघिल्ला वर्षहरुको जस्तो तिहारमा फलफूल व्यापारको रौनक समेत नभएको उनको बुझाइ छ । ‘असोजको बाढीपहिरोले फलफूल डुबायो, धेरै खेर गयो, व्यापारीहरु करोडौं घाटा व्यहोर्नुपर्यो’ उनले भने, ‘अहिले दसैंमा अर्डर गरेको सामान आउँदै छ, गाडीमै बिग्रिएको हुन्छ, व्यापारीलाई थप घाटै छ । तिहारमा अर्डर गरेको सामान कहिले आइपुग्ने हो ? थाहा छैन ।’
अहिले बजारमा चीनबाट ल्याएको स्याउ अंगुर आँप हलुवावेद, भारतबाट सुन्तला, केरा, स्याउ, खर्बुजालगायत विभिन्न फलफूल आइरहेको संघले जनाएको छ । नेपालमै पनि पर्याप्त मात्रामा स्याउ र केरा उत्पादन भएको संघले जनाएको छ । चीनबाट स्याउ नआउँदा यस वर्ष मुस्ताङको स्याउले नसोचेको व्यापार गरिरहेको बानियाँले बताए । ‘जुम्ला र मुस्ताङको स्याउ बजारमा छ, तर जुम्लाका रुचाइएन, मुस्ताङको अहिले पनि हरेक दिन एक करोड रुपैयाँ बराबरको स्याउ आइरहेको छ,’ उनले भने, ‘दसैंअघिदेखि आउन थालेको मुस्ताङको स्याउन तिहारभरि पनि आउँछ ।’
होलसेलमै नेपाली स्याउ प्रति किलो २३० देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको बानियाँले जनाए । बाढीपहिरोको कारण फलफूलमा क्षति, दसैंको सामान नै नआइपुग्दा तिहारका लागि सामान अर्डर गर्न अन्योलबीच बजारको आवश्यकता अनुसार फलफूल आएको उनले बताए । ‘सडकसञ्जाल राम्रो नहुँदा अर्डर गरेको सामान समयमै आइपुगेन, कतै नाका नै बन्द भयो,’ उनले भने, ‘फलफूलहरु गाडीमै सडेगलेर काठमाडौं आइपुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै ३ अर्ब ८६ करोड ९८ लाख रुपैयाँको फलफूल आयात भएको छ । साउन, भदौ र असोजमा सबैभन्दा बढी स्याउ आयात भएको छ । विभागका अनुसार २ अर्ब ९ करोड १४ लाख रुपैयाँको स्याउ चीन र भारतबाट आयात भएको छ ।
चीनबाट मात्रै १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ र भारतबाट ५४ करोड ५२ लाख रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांक छ । कुल २२ करोड ६९ लाख रुपैयाँको अंगुर आयात हुँदा सबैभन्दा बढी भारत बाट २० करोड ४४ लाख रुपैयाँ आएको छ । बाँकी चीनबाट अंगुर आयात भएको विभागको तथ्यांक छ । विभागका अनुसार २२ करोड २७ लाख रूपैयाँको आँप, १७ करोड ८० लाख रूपैयाँको अम्बा, १२ करोड २१ लाख रूपैयाँको किवी र १२ करोड १३ लाख रूपैयाँको कागती आयात भएको छ ।
नेपालम भारत, इजिप्ट र दक्षिण अफ्रिकाबाट सुन्तला आयात भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १९ करोड ४० लाख रूपैयाँको सुन्तला आयात हुँदा भारतबाट ११ करोड ९१ लाख, इजिप्टबाट ४ करोड ६२ लाख र दक्षिण अफ्रिकाबाट २ करोड ८५ लाख रूपैयाँ बराबरको आयात भएको छ ।