काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए ।
अध्यक्ष नियुक्ति सिफारिसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनेको थियो । समितिले आइतबार श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव पेस गरेका थिए ।
सोही आधारमा मन्त्रिपरिषद्ले उनीहरूमध्ये सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । खिचातानीका कारण गत पुसदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो । सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्तासमेत हिजो सकिएको थियो ।
आवेदन दिएकामध्ये कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता र प्रस्तुतीकरण आइतबार भएको हो । अन्तर्वार्तामा अर्का उम्मेदवार चिरिञ्जिवी चापागाईं भने अनुपस्थित थिए । आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको पहिले नै अन्तर्वार्ता भइसकेको थियो ।