
काठमाडौँ । कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको तस्बिर बाहिरिएपछि यस विषयमा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई तस्बिरको विषयमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
“यो विषयमा छानबिन गरेर दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आईजीपीलाई निर्देशन दिएको छु,” गृहमन्त्री लेखकले भने, “हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।” प्रहरीले यस विषयमा अनुसन्धान थालिसकेको जनाएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुषालले रविको हिरासतमा रहेको तस्बिर आफूले खिचेको दाबी गरेका छन् ।
मनोरोग विशेषज्ञ डा. निकोलस भुषाल (कमल भुषाल) ले गत प्रतिनिधि सभाको निर्वाचनमा रुपन्देही २ बाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल विरुद्ध चुनाव लड्न उम्मेदवारी दिएका थिए । तर उनी चुनावमा लड्न योग्य नभएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।