लामिछाने सांसदबाट निलम्बित, रविकै सिफारिसमा डीपी बने रास्वपाको कार्यवाहक सभापति


काठमाडौँ । डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापति भएका छन् । उपसभापति अर्याललाई पार्टी सचिवालय बैठकले कार्यवाहक सभापति बनाएको हो । दुईजना उपसभापति अर्याल र डा स्वर्णिम वाग्लेमध्ये कसलाई कार्यवाहक दिने भन्ने बहस भएको भए पनि सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका तीन मुद्दामा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले मिडियालाई बताएका छन् ।

कानूनी प्रक्रिया मिलाएर डीपीलाई जिम्मेवारी दिइएको पनि झाले बताए । रविको उक्त सिफारिसलाई सचिवालय बैठकले सर्वसम्मतिले पारित गरेको हो । लामिछाने लामो समय पार्टी काममा फर्कन नसक्ने अवस्था देखेपछि आन्तरिक रुपमा उपसभापति डा वाग्लेले कार्यबाहक सभापतिका लागि अभ्यास गरेको बताइएको थियो । यद्यपि विधानमै सभापतिले सिफारिस गर्न मिल्ने भनेसँगै प्रक्रिया पूरा गरी डीपीलाई कार्यवाहक सभापति बनाइएको झाले बताएका हुन् ।

गत कार्तिक २ गते पक्राउ परेका रविले अहिलेसम्म कार्यवाहक नदिएको भए पनि आइतबार तीन ओटा (सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा परेपछि सोमबार कार्यवाहक दिएका हुन् । रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणमा आइतबार मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बन भएको हो । आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको हो । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ ।

सो अनुसार संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना पत्र जारी गर्दै सोमबार साँझ रवि लामिछाने निलम्बनमा परेको जानकारी दिएका हुन् । ऐन भन्छ, ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

प्रतिनिधि सभा बैठक नचलिरहेको अवस्थामा संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेर जानकारी दिएको हो । रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी रास्वपा संसदीय दलको नेतासमेत हुन् । यसअघि उनी दोहोरो नागरिकतामा परेसँगै सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएर फेरि चुनाव जितेर सांसद भएका थिए ।

यसपालि उनी गत कार्तिक २ गते सहकारी प्रकरणमा पक्राउ परेका थिए भने आइतबार लामो समयको अनुसन्धानपछि उनीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि थपिएको छ । रविले पार्टीको सभापतिको हैसियतले कार्यबाहक डीपी अर्याललाई बनाउन सिफारिस गरेअनुसार अर्याल सर्वसम्मत भएका छन् । पार्टी संसदीय दलको नेताको हैसियत पनि अब डीपीले नै लिनेछन् ।


सम्बन्धित खवर