
काठमाडौं । नेपाली कांग्रेसले निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन राख्न उचित नहुने सुझाव दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलका क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने सुझाव दिए ।
उनले नेपालको कानुनले सरकारी कर्मचारीले कुनै पनि पार्टीको संस्थागत सदस्य लिन नहुने उल्लेख गरेकोमा ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने पार्टीको धारणा रहेको बताए। एउटामात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने र अधिकृत तहभन्दा माथिका कर्मचारीलाई संलग्न गराउन नहुने उनले बताए । उनले संवैधानिक आयोग पूर्व कर्मचारीको क्लबजस्तो देखिएकाले आयोगमा ५० प्रतिशतभन्दा बढी पूर्व कर्मचारी हुन नहुने प्रावधान राख्नुपर्ने सुझाव दिए ।
बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले निजामती क्षेत्रमा विभिन्न दलका फरक–फरक ट्रेड युनियन भन्दा पनि एउटै ट्रेड युनियन राख्नुपर्ने बताए । एउटै ट्रेड युनियनमा पनि अधिकृतभन्दा माथिका कर्मचारीलाई राख्न नहुने विषयमा छलफल चलाउनुपर्ने उनले बताए । बैठकमा प्रमुख दलका मुख्य सचेतकहरूले विधेयकहरूलाई समयमा नै अघि बढाउन पार्टीगत रूपमा नै प्रतिवद्ध रहेको धारणा राखेका थिए । उनीहरूले विधेयक धेरै समय समितिमा रहँदा समयमा नै कानुन नबन्ने समस्या रहेकाले सबै गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।