
काठमाडौं । हाल (शनिबार साँझ) देशभर साधारणतयादेखि पूर्णतया बदली छ । अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको बुलेटिनअनुसार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी प्रदेश र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
आइतबार दिउँसो पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
मौसम महाशाखाका अनुसार आइतबार रातिबाट भने मौसम सुधार हुने सम्भावना छ । आइतबार राति कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको मात्र सम्भावना छ । अन्य स्थानमा भने वर्षा वा हिमपात केहीको पनि सम्भावना देखिएको छैन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।