मेटमणिले बुढामगरलाई फेरि दिए २ करोड ७० लाखको चेक, ३१ कठ्ठा जग्गा पनि दिने सहमति


दाङ, १९ असार। नेकपा एसका उपमहासचिव एवं प्रमुख सचेतक मेटमणि चौधरीले चेक अनादरको उजुरी दिने धात बुढामगरलाई फेरि अर्को ठूलो चेक दिएका छन् । गत असार १७ मा उनले दुई करोड ७० लाख रूपैयाँको नयाँ चेक दिएको खुलेको हो ।

मिलापत्र गर्न मेटमणि र बुढामगर असार १७ गते राति जिल्ला प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतका अनुसार मेटमणिले साउन मसान्तमा साटिने गरी २ करोड ७० लाखको चेकसहित सोही मुल्य बराबरको ३१ कठ्ठा जग्गा बुढामगरको नाममा पास गरिदिने सहमति गरेका छन् । उक्त सहमतिपछि जाहेरीकर्ताले मुद्दा प्रक्रियाबाट पछि हट्न तयार भएको स्रोतले बतायो ।

बुढामगरले साउन ६ गते सांसद चौधरीविरूद्व ५ करोड ४० लाख रुपैयाँको चेक अनादरको जाहेरी दिएका थिए । तर असार ८ गते उनले जाहेरी फिर्ताका लागि फेरि अर्को पत्र पठाए ।

मेटमणिले यसअघि शहरी विकासमन्त्री भएका बेला ठेक्का मिलाइदिन भन्दै व्यवसायी बुढामगरसँग ५ करोड ४० लाख रूपैयाँ लिएको आरोप लागेको छ । ठेक्का मिलाउन नसकेपछि मेटमणिले उनलाई लगेको पैसा बराबरको चेक दिएको दावी गरिएको छ ।

मेटमणि र बुढामगरबीच मिलापत्र भएको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले पुष्टि गरे । ‘दुवै पक्ष आएर मुद्दा अघि नबढाउने सहमति गरेर जानुभएको छ,’ एसपी तिमिल्सिनाले नेपाल प्रेससँग भने, ‘के सहमति भएको हो हामीलाई थाहा हुने कुरा भएन ।’ पीडित भनिएका बुढामगरले आफू र मेटमणि बीच कुरा मिलिसकेको भन्दै सहमतिका बारेमा भने खुल्न चाहेनन् ।

 


सम्बन्धित खवर