केही दिनको परामर्शपछि रणनीति सार्वजनिक गर्दै विद्या भण्डारी


काठमाडौं, ९ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । अपराह्न तीन बजे थापाथलीस्थित कार्की बैंक्वेट पत्रकारहरूलाई बोलाइएको छ ।

एमालेमा फर्किने घोषणा गरेकी उहाँलाई पार्टीले रोक लगाउने निर्णय गरेपछि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत केही विशेष घोषणा हुनसक्ने सम्भावना छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार केन्द्रीय समितिको निर्णयपछि भोलिपल्टै धारणा सार्वजनिक गर्ने तयारी थियो, तर केही प्राविधिक कारणले गर्दा रोकिएकोमा आजका लागि तय भएको हो ।

पूर्व राष्ट्रपतिले केही महत्वपूर्ण घोषणा गर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा उहाँले प्रष्ट जवाफ दिनुभएन । आफू गृहजिल्ला चितवनमा रहेकाले यसबारे भण्डारीसँग कुराकानी हुन नपाएको पाण्डेको भनाइ छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुरुप केन्द्रीय कमिटी बैठकले राजनीतिमा रोक लगाउने निर्णय गरेपछि भण्डारी आफू निकट नेताहरूसँग आन्तरिक छलफलमै हुनुहुन्छ । स्रोतका अनुसार मंगलबार राति केन्द्रीय कमिटी बैठाकको निर्णय सार्वजनिक भएलगत्तै उहाँले कानुनविद् र राजनीतिक विश्लेषकहरुलाई समेत राखेर निकटहरूसँग परामर्श गर्नुभएको थियो ।

यस्ता छलफलमा सहभागी अधिकांशले सोचविचारका साथ दृढतापूर्वक अघि बढ्न सुजाव दिने गरेको बताइन्छ । निकट एक नेता भन्छन्, ‘उहाँलाई कानुनी हिसाबले आफ्नो यात्रा अघि बढाउन कुनै रोकतोक छैन, पार्टीभित्रकै प्रतिस्पर्धीसँग कसरी ट्याकल गर्ने भन्ने मात्र हो, त्यसबारे उहाँ विचार–विमर्शमै हुनुहुन्छ ।’

ती नेताका अनुसार भण्डारीले आज पार्टीभित्र उत्पन्न पछिल्लो अवस्था र आफ्नो भूमिकाबारे बोल्नुहुनेछ ।


सम्बन्धित खवर