
काठमाडौं, १८ साउन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भू–भागका धेरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बागमती प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।