‘सार्क एजुकेसन कन्क्लेभ तथा सम्मान कार्यक्रम’ सम्पन्न, सेन्ट लरेन्स कलेजलाई ‘एक्सिलेन्स कलेज आइटी एण्ड म्यानेजमेन्ट अवार्ड’


काठमाडौँ, भाद्र १४ । चाबहिल स्थित स्थित सेन्ट लरेन्स कलेजले ‘एक्सिलेन्स कलेज आइटी एण्ड म्यानेजमेन्ट अवार्ड’ प्राप्त गरेको छ । शिक्षालय मासिकद्वारा शुक्रवार काठमाडौँमा आयोजित ‘सार्क एजुकेसन कन्क्लेभ तथा सम्मान कार्यक्रम’ मा कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा दक्षिण एसियाको शिक्षा क्षेत्रका विभिन्न जल्दा बल्दा मुद्धाहरुमा प्यानल छलफल भएको थियो भने शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालले कलेजका अध्यक्ष केशव प्रसाद दंगाल तथा क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनलाई उक्त अवार्ड प्रदान गरेका हुन् । झन्डै ३ दशक अघि देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आइटी तथा व्यवस्थापन पढ्ने विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान सँगै सिप र रोजगारी समेत प्रदान गर्दै आएको हुँदा कलेजलाई उक्त अवार्ड प्रदान गरिएको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तुण्डकारले बताए ।

सम्मान ग्रहण पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै क्याम्पस प्रमुख महर्जनले विभिन्न अवार्ड बाट सम्मानित सेन्ट लरेन्सले थप एउटा अर्को उपलब्धि प्राप्त गरेको र यसले अझै राम्रो गर्ने प्रेरणा दिएको बताए । ‘दक्षिण एसियाली मुलुकका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी कार्यक्रममा सेन्ट लरेन्स को प्रतिनिधित्व गर्दै सम्मानित हुन पाउँदा गौरवान्वित भएको छु। यसले शिक्षा क्षेत्रमा अझै निष्ठापूर्वक लाग्न प्रेरणा दिएको छ।’ उनले भने ।

त्यस्तै कलेजका अध्यक्ष दंगाल सम्पूर्ण कलेज परिवार यो अवार्डको हकदार भएको बताउँछन् । ‘अथक मेहनत गर्ने शिक्षक कर्मचारीका कारण हाम्रो नतिजा सधैँ उत्कृष्ट छ । त्यसकै कारण यस किसिमका उपलब्धिहरू प्राप्त हुन्छन् । त्यसैले यो अवार्ड उहाँहरूमा समर्पित गर्न चाहन्छौँ ।’ दंगालले भने, ‘आइटी र व्यवस्थापन दुवै सेन्ट लरेन्सका सफल कार्यक्रमहरू हुन् । त्यो सफलतामा आज अर्को एउटा इँटा थपिएको छ । ’

कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत मुलुकका ख्यातिप्राप्त शिक्षाविद्हरू सम्मानित भएका छन् । यो शिक्षा छलफल कार्यक्रमले सार्क क्षेत्रेको शिक्षाका अवसर र चुनौतीहरू बारे समीक्षा गर्दै शैक्षिक विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको छ ।


सम्बन्धित खवर