
काठमाडौं, १७ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको क्षेत्र नं ३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने भएको छ ।
पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय समितिको बैठकले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको हो ।
रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइ आएका आकांक्षी उमेदवारहरु मध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनौट गर्न तपसिल बमोजिमका मतदाताहरुबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकांक्षी उमेदवारलाई उक्त उपनिर्वाचनको उमेदवार छनौट गर्ने निर्णय गरिएको छ।
आन्तरिक प्रारम्भिक निर्वाचन यथाशिघ्र गरिने र सो को आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय भएको छ।आन्तरिक प्रारम्भिक निर्वाचनका मतदाताहरु यस प्रकार रहनेछ :
क) रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।
ख) रुपन्देही–३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।
ग) रुपन्देही–३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाऊककपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।
घ) रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।
ङ) रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।
च) रुपन्देही जिल्ला क्षेत्र नं–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु ।
छ) २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु ।
ज) २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरु रहनेछन् ।