
काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमै रहेको खुलेको छ । उनले प्रधानसेनापति र विज्ञसहित शीतलनिवासमै बसेर छलफल गरेका छन् । नयाँ सरकार गठनको तयारी हुँदै गर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।
यसैबीच, उनले केही विज्ञसहितसँग शीतलनिवासमै बसेर छलफल गरेको स्रोतले बताएको छ । बिहीबार बेलुकी राष्ट्रपति पौडेलसँग शीतलनिवासमा संविधानविद् विपिन अधिकारी, पूर्णमान शाक्य र भिमार्जुन आचार्यले भेट समेत गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिले उत्पन्न परिस्थितिको निकास दिनेबारे कुराकानी गर्न बोलाएको बताएका थिए ।
त्यस्तै, उक्त छलफलमा ललित बस्नेत, सूर्य ढुंगेल, चन्द्रकान्त ज्ञवाली पनि थिए । ‘यसको संवैधानिक, राजनीतिक पाटो के हुन्छ भन्ने परामर्श गर्न बोलाएको हुँ,’ भन्दै राष्ट्रपतिले कुराकानी सुरु गरेको स्रोतको भनाइ छ ।
त्यसपछि प्रधानसेनापति अशोकराज सिग्देलले बाहिर विभिन्न अफवाहहरू फैलिने क्रम सुरु भएको भन्दै छिटो सरकार गठन गरिदिए सजिलो हुने बताएको स्रोतको भनाइ छ ।
तीनै जनाले संविधानको पालक र संरक्षक राष्ट्रपति भएकाले चाहे आवश्यकताको सिद्धान्त वा उपलब्ध जुनसुकै बाटोबाट चुनाव गराउने गरी नागरिक सरकार बनाउन राष्ट्रपतिले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।
दुई घण्टासम्म यो बैठक चलेको स्रोतको भनाइ छ । राति १० बजे सबैजना शितलनिवासबाट निस्किएका थिए । संविधानविद् अधिकारीले २०४७ सालमा जसरी बाधा फुकाइएको थियो, २०६२/६३ मा जसरी गरिएको थियो, अहिलेको शून्यता फर्काउन त्यही बाटो लिनुपर्ने बताएका थिए ।