
काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले पार्टीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा गठन हुने समितिको सचिवालयमा हालका पदाधिकारीहरू रहने व्यवस्था मिलाइएको छ । बैठकले मंसिर महिनामा विशेष महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने, पारिवारिक सदस्य र नेपोटिज्मसम्बन्धी कार्यविधि तयार गर्ने, संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने लगायतका निर्णय बैठकबाट भएका छन् ।
जेन–जीको व्यापक सहभागिता सुनिश्चित गर्न जेन–जेडलाई पार्टीका सबै कमिटीमा समेट्ने, आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम अघि बढाउने पनि बैठकले निष्कर्ष निकालेको छ ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ भने वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका सुझावहरूलाई पनि महाधिवेशनसम्म छलफल गर्दै लैजाने उल्लेख गरिएको छ ।
बैठक निर्णयहरू :
– केन्द्रीय समिति पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
– पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
– नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने ।