आगामी निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान


काठमाडौँ,९ कार्तिक । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन । यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगले तयारी गरेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले बजेट तयारीकै क्रममा रहेको बताए । उनका अनुसार, साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान छ तर यसबारे अन्तिम टुंगो लाग्न बाँकी रहेको छ । यस्तै निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ ।

छठ पर्व सकिएलगत्तै आवश्यक सामग्री किन्न सुरू गर्नुपर्ने आयोगले आग्रह गरेको छ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्ने प्रकृयामा रहेको उनले बताए । आयोगले सामग्री खरिद गर्नेबाहेक केही रकम आकस्मिक व्यवस्थापन शीर्षकमा राख्न खोजेको छ । हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शीर्षकमा बजेट राख्न खोजेको हो ।

हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारणले निर्वाचन गराउन कठिन हुने आयोगको अनुमान छ। मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो। यस्तै आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ। विगतमा पनि यस्तै अभ्यास हुँदै आएको थियो ।

यसकारण सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ रहेको छ। मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापनमा खर्च हुँदै आएको छ ।


सम्बन्धित खवर