
काठमाडौं, १२ पुस । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेकी छन् ।
भदौ २३, २४ को जेनजी आन्दोलनपछि तीन दलका शीर्ष नेता पहिलोपटक बालुवाटार पुगेका हुन् ।
जारी बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।
जेनजी आन्दोलनपछि अध्यक्ष ओलीसहितका नेता पहिलोपटक बालुवाटार पुगेका हुन् । यसअघि प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा ‘केही नेताहरूको अनुहार पनि हेर्न मन छैन’ भन्ने टिप्पणी गरेकी थिइन् । सो टिप्पणीपछि पहिलोपटक बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओली एउटै टेबलमा बसेर छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको बैठकमा समसामयिक राजनीतिक अवस्था, सत्ता सञ्चालन, निर्वाचन र आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको बताइएको छ ।
राजनीतिक तनाव र आपसी आरोप–प्रत्यारोप चलिरहेका बेला प्रधानमन्त्री, ओली, प्रचण्ड र देउवा एउटै बैठकमा बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।