
काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाखको अन्तिममा हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले यस्तो प्रस्ताव पारित गरेको हो । उक्त प्रस्तावसहित कांग्रेसले केन्द्रीय समितिसहित तल्ला तहका सबै समितिको म्याद सोही मितिसम्म थप गर्ने निर्णय गरेको हो ।
यो निर्णयमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले विमति राखेका छन् । कार्यसम्पादन समितिले पारित गरेको कार्यतालिकाअनुसार महाधिवेशनको नयाँ मिति वैशाखको २८ देखि ३१ सम्म हुनेछ । यसअघि पुस अन्तिममा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले पारित गरेको थियो ।
त्यसका लागि कांग्रेसले गाउँ नगर वडा अधिवेशन– २०८२ चैत २१ गते, गाउँ नगर अधिवेशन – २०८२ चैत २५ गते गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेशसभा क्षेत्रीय अधिवेशन– २०८२ चैत २८ गते, एकमात्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन– २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन– २०८३ वैशाख ५ गते गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार प्रदेश अधिवेशन– २०८३ वैशाख १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन– २०८३ वैशाख २८, २९, ३० र ३१ गते गर्ने निर्णय भएको छ ।