
काठमाडौं, २५ पुस । हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।;
उनको नागरिकतालगायतको विषयमा सार्वजनिक रुपमै प्रश्न उठेपछि उनी आफ्नो जन्म गाउँ गोरखाको चुमनुब्री पुगेर स्थानीयहरूसँग भेटेर फर्किएका थिए । त्यहाँ उनले आफ्नो नागरिकता छानबिन गरिपाउँ भनेर निवेदनसमेत दिएका थिए ।
उनले कुन पार्टीबाट चुनाव लड्ने उल्लेख गरेका छैनन्। यद्यपि पछिल्लो समय उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्नेमा भूमिका खेलेका थिए।
गत निर्वाचनमा गोरखा १ मा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। बजगाईंले १६ हजार ६४३ मतान्तरले विजयी भएका थिए।
उनले ३३ हजार ४२८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामशरण बस्नेतले १६ हजार ७८५ मत ल्याएर पराजित भए ।