कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र स्थगित, भोलि बिहान ९ बजे सुरु हुने


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले मंगलबार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने जानकारी दिए । उनले केन्द्रीय समितिले विशेष महाधिवेशनको ओनरसिप नलिएमा नेतृत्व परिवर्तनको कार्यविधि पारित भइसकेकाले त्यसै अनुरुप अघि बढ्ने जानकारी दिए ।

“सभापति र कार्यवाहक सभापति आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने विशेष महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरिसकेको छ,” आचार्यले भने ।

विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले भने हलको मुड सभापति शेरबहादुर देउवा आउँदा पनि नेतृत्व कायम राख्ने नरहेको बताए । उनले महाधिवेशन प्रतिनिधिहरूले अपमानित महसुस गरेकाले सभापतिको सम्मान गर्ने मुडमा नरहेको बताए ।

“भोलिसम्म सभापतिसहित नेताहरू आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने परिस्थिति अर्को बन्न सक्छ,” पोखरेलले भने, “तर, हलको मुड त्यो छैन । महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने निर्णयबाट अपमानित महसुस गर्नुभएको छ । उहाँहरू सजिलै मान्नुहुन्छ भन्ने देखिँदैन ।”

उनले भोलि बन्दसत्र सुरु हुँदा नेताहरू नआए प्रतिनिधिहरूलाई रोक्न नसकिने बताए । “नेताहरू आउनुभयो, स्वामित्व लिएर महाधिवेशन प्रतिनिधिहरूलाई आश्वस्त पार्नुभयो भने पार्नुभयो,” पोखरेलले भने, “बारबार के हुन्छ के हुन्छ भन्ने जवाफ मिडियालाई दिन सकिँदैन, भोलिदेखि नयाँ नेतृत्वको प्रक्रिया सुरु हुन्छ ।”


सम्बन्धित खवर