महामन्त्रीद्वय थापा र शर्मासँग छलफलमा देउवा


काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिरहेका छन् । मंगलबार राति अबेरसम्म विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट सहमति नभएपछि महामन्त्रीद्वयले देउवासँग भेटवार्ता अघि बढाएका हुन् ।

कांग्रेस नेता टेकराज पौडेलका अनुसार संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि महामन्त्रीद्वय थापा र शर्मा आफै छलफलमा जुटेका हुन्। विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता निष्कर्षमा नपुगेको अवस्था र निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा उनीहरूबीच भेट हुन लागेको पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन तन्काएर आजसम्म सारिए पनि पार्टीभित्रको विवादको गाँठो अझै फुकेको छैन। पार्टीलाई फुट्न नदिन सभापति र महामन्त्रीद्वयबीचको आजको वार्तामा मंगलबार मिल्न बाँकी रहेका विषयमा सहमतिको प्रयास हुने अपेक्षा गरिएको छ।

सभापति देउवाले उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्ने, देउवाले आगामी चुनाव लड्न नपाउने र नयाँ नेतृत्व चयन गर्ने विषयमा सहमति जुट्न बाँकी छ। देउवाका हस्ताक्षर छाड्न सकारात्मक देखिएपनि नियमित महाधिवेशनमा नपुग्दै अहिले राजीनामा दिएर छाड्ने प्रस्ताव भने मुख्य असहमतिको विषय बनेको जनाइएको छ ।


सम्बन्धित खवर