पार्टीको आधिकारिता दाबी गर्दै सर्वोच्च पुग्यो देउवा समूह


काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको देउवा समूह पार्टीको आधिकारिकता दाबी गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालत पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने गरी गरेको निर्णय अवैध रहेको जिकिरसहित देउवा समूह रिट लिएर सर्वोच्च गएको हो ।

यसअघि शनिबार सानेपामा बसेको सो समूहको बैठकले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको थियो । बैठकले देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालत जान अख्तियारी दिने गरी भएको निर्णयबमोजिम निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने गरी भएको निर्णय उल्ट्याउन माग राखेर सर्वोच्चमा रिट दर्ता हुँदै छ ।

गत पुस २७ देखि पुस ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्दै १३४ सदस्यीय कार्यसमिति चयन गरेको थियो । सर्वोच्च अदालत प्रशासनमा रिट पेस भएपछि कानुनी रित र प्रक्रिया मिले–नमिलेको बिषयमा अध्ययन गरिन्छ । रित पुगेको अवस्थामा संविधान र कानुन अनुरुप रिट दर्ता प्रक्रियामा जान्छ ।


सम्बन्धित खवर