
काठमाडौं, ६ साउन । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार साँझ आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै धनखडले आफ्नो पदबाट राजीनामा दिनुको स्वास्थ्य कारण उल्लेख गरेका छन् ।
“राष्ट्रपति महोदय, स्वास्थ्य सेवालाई प्राथमिकता दिन र चिकित्सा सल्लाह पालना गर्न, म संविधानको धारा ६७ (क) अन्तर्गत तत्काल प्रभावबाट भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिन्छु ।” धनखडले राष्ट्रपतिलाई लेखेको पत्रमा लेखेका छन्,“मेरो कार्यकालमा निर्माण भएको सौहार्दपूर्ण र प्रशंसनीय कार्य सम्बन्ध र सहयोगको अटल भावनाको लागि म भारतका सम्माननीय राष्ट्रपतिप्रति गहिरो आभार व्यक्त गर्दछु ।”
उनले प्रधानमन्त्री र विशिष्ट मन्त्रिपरिषद्प्रति पनि हार्दिक आभार व्यक्त गर्दै प्रधानमन्त्रीको सहयोग र समर्थन अत्यन्तै मूल्यवान र आफ्नो कार्यकालमा धेरै कुरा सिकेको उल्लेख गरेका छन् । धनखडले भनेका छन्, “संसदका सबै माननीय सदस्यहरूबाट मैले पाएको माया, विश्वास र स्नेह सधै मेरो स्मृतिमा कोरिएको रहनेछ ।”