बंगलादेश चुनाव : देशबासीलाई बधाई दिँदै युनुसले भने– लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अटल छ


काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आज भएको आम निर्वाचनमा सहभागी सम्पूर्ण देशबासीलाई हार्दिक बधाई दिँदै कृतज्ञता व्यक्त गरेका छन् । उनले जनताले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर देशको भविष्य निर्धारण गर्न सक्रिय भूमिका खेलेको बताए ।

आज भएको मतदान समाप्तपछि प्रेस विज्ञप्ति जारी गर्दै युनुसले भनेका छन्– मतदाताहरूको स्वतःस्फूर्त सहभागिता, राजनीतिक दलहरूको जिम्मेवार आचरण, उम्मेदवारहरूले देखाएको संयम र निर्वाचन प्रक्रियामा संलग्न सबै संस्थाहरूको व्यावसायिकताले सामूहिक रूपमा लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अटल रहेको देखाएको छ ।

युनुसले निर्वाचन आयोग, सशस्त्र बल, कानून व्यवस्था एजेन्सीहरू, प्रशासन, पर्यवेक्षक टोली, सञ्चारकर्मी र मतदान प्रक्रियामा संलग्न सबै अधिकारी र कर्मचारीहरूलाई विशेष धन्यवाद दिए ।

उनले अन्तिम नतिजा घोषणा भएपछि पनि लोकतान्त्रिक मर्यादा, सहिष्णुता र पारस्परिक सम्मान कायम राख्न राजनीतिक दल र उम्मेदवारहरूलाई अपिल गरेका छन् । ‘मतभेद रहिरहनेछन्, तर राष्ट्रिय हितमा एकता कायम राख्नुपर्छ ।’ युनुसले भने ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेको लगभग डेढ वर्षपछि पहिलोपटक आम चुनाव भएको हो । बंगलादेशको संसदीय चुनावमा २९९ सिटका लागि आज मतदान भएको हो ।


सम्बन्धित खवर