नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित


काठमाडौं । नेपाली कांग्रेस (बीपी) पार्टी औपचारिक रूपमा आइतबार (फागुन १७) नेपाली कांग्रेसमा समाहित भएको छ । काठमाडौंको सामाखुसीमा आयोजना गरिएको चुनावी सभामा कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको घोषणा गरिएको हो । दुई पार्टीका बीचमा सहमति गरी कांग्रेस बीपी नेपाली कांग्रेसमा समाहित भएको हो । सहमतिपत्रमा कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सांगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ । साथै, परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।

सहमतिपत्रमा नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत ’बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको जनाइएको छ । नेपाली कांग्रेस (बीपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । सहमतिपत्रमा नेपाली कांग्रेसमा समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने उल्लेख छ । नेपाली कांग्रेसमा बीपी कांग्रेस समाहित भएपछि निर्वाचनमा देशैभर पार्टीका उमेदवारलाई मतमा सहयोग पुग्ने आँकलन गरिएको छ ।


सम्बन्धित खवर