
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको होटल सोल्टीमा बुधबार बिहान नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो ।
नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालका तर्फबाट कानूनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे ।
यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए ।
सोल्टीको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्डले कतारी अमिर शेख तमिम विन हमाद अल थानीको सम्मान होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन् । नेपालको राजकीय भ्रमणमा आएका कतारी अमिर आजै स्वदेश फर्कनेछन् । यसअघि मंगलबार उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।