
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै संयुक्त विज्ञप्ति जारी गर्दै ती देशहरूले अन्तर्राष्ट्रिय समर्थन जनाएका हुन् ।
संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले प्रमाणीकरण भएको टीआरसी विधेयकको समर्थन गरेका हुन् । ती देशहरूले ऐन कार्यान्वयनमा आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्न अनुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ । निणर्य प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ ।