दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा १७७ जनाको मृत्यु


काठमाडौं । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा जहाज दुर्घटना हुँदा कम्तीमा १७७ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ । जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।त्यो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन् ।

देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो । न्याश्नल फायर एजेन्सीले अधिकांश यात्रुले ज्यान गुमाएको हुन सक्ने बताएको छ । अधिकारीहरूले त्यहाँ अग्नि नियन्त्रक, प्रहरी र उद्धारकर्ताहरू गरी हाल १ हजार ५ सय जनाभन्दा बढी मानिसहरू खटिएको जनाएका छन् ।

दुर्घटनास्थलमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति छे साङ–मुक पनि पुगेको राष्ट्रपतीय कार्यालयले जनाएको छ । उनले जनशक्ति, स्वास्थ्य सेवा र उपकरण उपलब्ध गराएर उद्धार प्रयासलाई सहयोग गर्न निर्देशन दिएको उनको कार्यालयले जनाएको छ । सरकारले शोकसन्तप्त परिवारलाई सकेको सहयोग दिने जनाएको छ ।

जारी राजनीतिक सङ्कटमाझ यसअघिका कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि उनी शुक्रवार मात्रै कार्यवाहक राष्ट्रपति घोषित भएका थिए । सो विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका योन्हापले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन तर स्थानीय सञ्चारमाध्यमहरूले विमानको प्रणालीमा चराले क्षति पुर्‍याउँदा यस्तो भएको हुनसक्ने विवरणहरू सार्वजनिक गरिरहेका छन् ।

तस्बिरहरूमा विमानको तल्लो भाग घिस्रिएको र त्यसले एउटा पर्खालमा ठक्कर दिएपछि पड्किएको देख्न सकिन्छ । चराहरूले अवतरण गराउने ‘ल्यान्डिङ गियर’मा समस्या निम्त्याएको हुन सक्ने बताइएको छ । अग्नि नियन्त्रण निकायले खराब मौसम र चराले ठक्कर दिनु दुर्घटनाको सम्भावित कारण हुन सक्ने ठानेको छ । मुआन फायर डिपार्टमेन्टका प्रमुखले वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताए ।

उनले भने, विमानको पछिल्लो भाग सग्लो छ तर अरू भाग चिन्न नसकिने अवस्थामा पुगेको छ । उक्त विमानस्थलले सबै उडानहरू बन्द गरेको छ । कोरियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म एक जना चालक दलको सदस्य र एक यात्रुको उद्धार भएको जनाएको छ । अरू भिडिओहरूमा कालो धुँवाको ठूलो लप्का आकाशतर्फ उडेको देख्न सकिन्छ । कोरियाको अग्नि नियन्त्रण निकायका अनुसार ८० जना अग्नि नियन्त्रक र ३० भन्दा बढी दमकल घटनास्थलमा खटिएका छन् ।

मुआन राजधानी सोलबाट करिब २८८ किलोमिटर दक्षिणमा पर्छ । दक्षिण कोरियाको उड्डयन उद्योग हवाई सुरक्षाका मामिलामा बलियो रहेको विश्वास गरिन्छ । जेजु एअरको इतिहासमा यो पहिलो दुर्घटना हो । सन् २००५ मा स्थापित जेजु एअर दक्षिण कोरियाकै सर्वाधिक ठूलो मध्येको कम बजेटमा उडान सेवा प्रदान गर्ने वायुसेवा कम्पनी हो । सो दुर्घटनापछि जेजु एअरले माफी मागेको छ ।

एउटा विज्ञप्तिमा उसले भनेको छ, “हामी जेजु एअर मुआन विमानस्थलमा भएको यो घटनामा क्षति व्योहोरेका सबैसँग शिर निहुराएर माफी माग्छौँ । यो घटनापछि हाम्रोतर्फबाट गर्न सकिने सबै थोक हामी गर्छौँ । यो पीडाप्रति हामी क्षमा माग्छौँ,” जेजु एअरले भनेको छ । (बीबीसी)


सम्बन्धित खवर