थाइल्यान्डसँग लडाइँबीच कम्बोडियाले गर्‍यो युद्धविरामको माग


काठमाडौं, १० साउन । कम्बोडियाले थाइल्यान्डसँग जारी लडाइँबीच तत्काल युद्धविरामको माग गरेको छ । दुई देशबीच सीमापार झडप जारी छ । लडाइँमा धेरै मानिस मारिएका र घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघमा कम्बोडियाका राजदूत छिया केओले आफ्नो देशले कुनै सर्तबिना झडप समाप्त गर्न माग गरेको बताएका छन् । उनले कम्बोडियाले यो विवादको शान्तिपूर्ण समाधान चाहेको पनि बताए ।

थाइल्यान्डले कम्बोडियाको यो प्रस्तावमा हालसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । थाइल्यान्डले यसअघि कम्बोडियाको सीमासँग जोडिएका आठ जिल्लामा सैनिक कानुन लागु गरेको थियो ।

गएको बिहीबारदेखि दुई देशबीच जारी झडपमा हालसम्म कम्तीमा ३२ जनाको मृत्यु भएको छ । १३३ जना घाइते छन् । दुवै देशमा गरी सीमा क्षेत्रका लाखौं मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थाइल्यान्ड र कम्बोडियाले एकार्कामाथि पहिले गोली चलाएको आरोप लगाइरहेका छन् ।


सम्बन्धित खवर