
काठमाडौं, ३१ असोज । देशमा बढ्दो राजनीतिक किचलो, नेतृत्व अभाव, सामाजिक र धार्मिक विभाजन, आर्थिक असमानता तथा भौगोलिक तवरले देखिएका मतभेदहरूले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला, जन प्रजातान्त्रिक पार्टी नेपालले हालै सम्पन्न जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता गर्दै माग पूरा गर्न आग्रह गरेको छ । जेन–जी आन्दोलनपछि देशमा देखिएको शून्यता, सहिद परिवार, घाइतेका समस्याहरु तथा हालको आन्दोलनले ल्याएको परिवर्तनको कार्यान्वयन र त्यससँग सम्बन्धित भ्रष्टाचार, बेथिती लगायतका विषयमा जन प्रजातान्त्रिक पार्टी नेपालको धारणा तथा एकीकृत कार्ययोजना सार्वजनिक कार्यक्रम सार्वजनिक गरेको छ ।
रिपोर्टस क्लब नेपाल, भृकुटीमण्डपमा भएको कार्यक्रममा पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारको खरो आलोचना गर्दै जेन–जी आन्दोलनको भावना अनुसार सरकार नचले अर्को विद्रोह हुने बताए । अहिलेको अवस्थामा निर्वाचनले मात्र राजनीतिक निकास नदिने भन्दै वर्तमान सशोधन कि अन्तरिम संविधान निर्माण गर्नुपर्ने पनि बताए । साथै नागरिक सरकार समेत गठन हुनुपर्ने उनको भनाई थियो । त्यसैगरि पार्टीका महासचिव एवं प्रवक्ता राजेन्द्र नेगीले भदौ २३ र २४ गते देशभरि फैलिएको जेन–जी आन्दोलन कुनै सामान्य घटनाक्रम होइन । यो आन्दोलन हाम्रो पुस्ताले भोगिरहेको अन्याय, अत्याचार, भ्रष्ट्राचार र बेथितिविरुद्धको सामूहिक विद्रोह हो । जेन–जी पुस्ताले देखाएको साहस र बलिदान ऐतिहासिक छ, जसले मुलुकको सामाजिक चेतनामा नयाँ उर्जा भरेको छ ।”
जेन्जी–जी कर्णालीबाट घाईते हुनु भएका रुपेश आचार्यले जेन–जी आन्दोलनले सकारात्मक भूमिका खेलेको भन्दै सबै पक्ष सञ्चिनु पर्ने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष तेजबहादुर बस्नेत, महासचिव एवं प्रवत्ता राजेन्द्र नेगी, सचिव रमेश महते लगायतको उपस्थिति थियो । जन प्रजातान्त्रिक पार्टी नेपालले देशमा अमनचयन, सद्भाव, सहिष्णुता, नैतिकता र सुशासन स्थापना गर्नको लागि आफू सदैव प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । पार्टीका अनुसार, ‘देशलाई कानुनी राष्ट्र बनाउने र विद्यमान समस्याहरुको समाधान गर्ने दिशामा जेन–जी पुस्ताको साथ लिएर अघि बढ्नु आजको प्रमुख आवश्यकता हो ।’
देशमा देखिएको राजनीतिक, सामाजिक र नैतिक संकटका बीचमा, जन प्रजातान्त्रिक पार्टी नेपालले देशको नयाँ दिशाबारे स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेकोे छ । यस सन्दर्भमा, जेन–जी आन्दोलनपछि उत्पन्न परिदृश्य, सहिद परिवार र घाइतेका समस्या, तथा राष्ट्रिय पुनर्निर्माणमा पार्टीको भूमिकासम्बन्धी धारणा र प्रतिवद्धता सार्वजनिक गरेकोछ । कार्यक्रममा ऐतिहासिक कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, पत्रकार तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो ।
