
काठमाडौं, ११ माघ । मधेशमा दलित समूह तर्फबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा ७ हजार ९०४ मतभारसहित निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शम्भु पासवान ले १ हजार ३७६ र जसपाकी चमेली देवी दासले २०९ मत भार पाएकी छन् ।
५४ वर्षीय पासवान रौतहट जिल्लाको परोहा नगरपालिका–३ का बासिन्दा हुन् । शिक्षा क्षेत्रमा उनले राजनीतिक शास्त्रमा स्नातक (बीए) पूरा गरेका छन् ।
‘तीान पुस्तादेखि हाम्रो परिवार कांग्रेसमा छ । तर आजसम्म अवसर भेटिएको थिएन । धैर्य र संघर्ष गर्दा एकदिन अवश्य अवसर पाइन्छ भन्ने आज प्रमाणित भयो’ उनले खुसी व्यक्त गरे ।
उनी २०५२ सालदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय छन् । पार्टी संगठनभित्र उनले विभिन्न जिम्मेवारी सम्हालेका छन् । तत्कालीन नारायणी अञ्चल तरुण दलको अञ्चल सदस्य भइसकेका पासवान दलित राजनीतिका पुराना नेता हुन् ।
नेपाल दलित संघको रौतहट जिल्ला अध्यक्षका रूपमा उनी दुई अवधि कार्यरत रहे । त्यसपछि नेपाल दलित संघको केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्दै हाल निवर्तमान केन्द्रीय सचिवको भूमिकामा छन् ।
लामो समय संगठन निर्माण र आन्दोलनमा बिताए पनि यसअघि राष्ट्रिय तहको अवसर नपाएको अनुभव उनीसँग छ ।
निर्वाचित पासवानले राष्ट्रिय सभामा पार्टीभित्र सहकार्य गर्दै दलित समुदायले नपाएका अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विशेषगरी मधेशी दलित समुदाय राज्यका संरचना र निर्णय तहमा पहुँचबाट वञ्चित रहेको उनको ठम्याइ छ ।
‘दलितलाई पहुँच र अधिकार दिलाउने, त्यसका लागि आवश्यक नियम र कानुन निर्माणमा भूमिका खेल्नेछु, उनले भने ।