इलाम र बझाङ उपचुनाव परिणामको चिरफार


काठमाडौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उपचुनावले इलाममा राजनीतिक पर्यटन बढायो । उसो त वैशाख १५ को उपचुनाव बझाङ १(१) मा पनि थियो । इलाममा जस्तै त्यहाँ प्रमुख दलका उमेद्वारहरु थिए । भारतसँग सीमा जोडिएको सूदुरपूर्वी जिल्ला इलामको चुनावभन्दा चीनसँग सीमा जोडिएको सुदुरपश्चिमको जिल्ला बझाङको चुनावको चर्चा कम भयो । कांग्रेसका दुवै महामन्त्री इलाम पुगे, बझाङ पुगेनन् । एमाले अध्यक्ष ओली पनि इलाम पुगे, बझाङ पुगेनन् । इलाममा मात्रै स्वतन्त्र उम्मेदवार थिएनन् । बझाङमा पनि थिए । धरानका स्वतन्त्र उम्मेदवार भएर मेयर बनेका हर्क साम्पाङ इलाम पुग्दा बझाङ पुगेनन् । गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेको उम्मेदवार प्रदेशमा नभएकोले उनी बझाङ नजानु स्वभाविक भयो । खासमा नेपालका मुलधारका शीर्ष नेताहरुले संघीयतालाई पत्याएको देखिएन ।

मुलधारका दलहरु खासगरि नेकपा एमाले र नेपाली कांग्रेसको शक्ति क्षयीकरण सोचेजस्तो भइनसकेको पुष्टि भयो । वंशजका आधारमा टिकट दिएकोेमा होस् अथवा पुरानै अनुहार देहोर्याएको आधारमा होस्, जनताले परम्परागत दललाई अविश्वास नगरेको सन्देश देखिइएको छ । सन्देश दुईः कोशी प्रदेश सडकमा देखिएको पहिचानवादी मत मतपत्रमा अभिव्यक्ति नहुनु इलामे चुनावी गणितको अर्को सन्देश हो । प्रदेशको नाम पहिचानको आधारमा नभएर पुरानै अञ्चलको नाममा राखिएपछि भड्किएको समूहले सडकमा निरन्तर हंगामा गर्दै आएको थियो । त्यसैको बहकाउमा परेका थिए एमाले बाहेकका अन्य राजनीतिक दलहरु । तर, ब्यालेट बक्समा ‘पहिचानवादी जनमत’ सोचेजस्तो गह्रुंगो देखिएन । जनताले मत दिएर पहिचानको मुद्दा बोक्नेलाई जिताउन चाहेनन् ।

यसो हुनुमा पहिचानको नाममा उठ्ने स्वतन्त्र उम्मेदवारलाई दलीय राजनीतिमा लागेका भेट्रानहरुले राजनीतिक नेतृत्व नमानेको पनि हुनसक्छ । मुद्दा पहिचानको लिने तर आफूभन्दा अर्को कोही नेता भएको नमान्ने खालको अवस्था देखिएको छ । अर्थात् पहिचानको मुद्दामा एकमत देखिएका परम्परागत दलभित्रका नेता-कार्यकर्ताहरु पहिचानको मुद्दा बोक्ने मानक सर्वसम्मत अनुहार बनाउन भने इच्छुक छैनन् । मुलधारको राजनीतिक दलमा हुँदाको देशभरको राज्यसत्ता र देशव्यापी दलको सत्ता सम्पर्क र सम्बन्ध गुमाउन नचाहेर पनि मुलधारका दलभित्र रहेका पहिचान पक्षधरहरुले खुलेर व्यालेट विद्रोह गर्न र गराउन नसकेको देखिएको छ । त्यही कारण कोशीको पहिचानपक्षको वजन सडकमा भन्दा धैरै फितलो रुपमा मतपत्रमा खसेको हो । सन्देश ३ः चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका थेगिमका प्रमुख प्रचारक जसरी लागेका थिए हर्क सम्पाङ । यो चुनाव एकप्रकारले साम्पाङको व्यक्तिगत लोकप्रियताको मापन पनि थियो ।

मतदानको रुझानले साम्पाङ र उनका समर्थकहरुले दाबी गरेजस्तो बलियो जनाधार देखिएन । साम्पाङका झण्डै साढे आठ लाख फेसबुक पेजमा लाइक गर्नेहरु सबै उनका मतदाता थिएनन् नै । चुनाव अगाडि घण्टीका मिलन लिम्बू तथा अन्य रास्वपा नेताहरुले हर्कको साथ पाउन जुन लविङ गरेका थिए, त्यो हर्कको चुनावी वजनलाई धेरै सोचेर गरिएको थियो । हर्कले मुढाको पक्षमा व्यापक मत मागे । इलाम पुगेर भाषण गरे । यद्यपि, त्यसले पनि मतदातालाई ठूलो प्रभाव पार्न सकेन । फलस्वरुप हर्कको क्रेजले मुढा पहिलो त परै जाओस्, दोस्रो शक्ति बन्न नसक्ने अवस्था देखिएको छ । यसले मुढा उम्मेदवार मात्रै होइन लौरोबाट स्वतन्त्र चुनाव जितेका हर्कलाई पनि धरानमा अब हुने चुनावमा उठ्दा सोचेजस्तो सहज नभएको संकेत गर्छ । हर्कले समर्थन गरेका उम्मेदवारको चुनावी परिणाम विज्ञापन गरेर उनका विपक्षीहरुले उनीविरुद्धको चुनावी मोर्चामा जनतालाई राजी गराउन प्रयत्न गर्न सक्ने आधार तय भएको छ ।

इलाम नगरपालिका र धरान उपमहानगरपालिका पूर्वमेयर तारा सुब्बाको पालामा औपचारिक रुपमै मितेरी नगर भएका थिए । इलाम नगरपालिका समेटिएको क्षेत्रको चुनावी परिणामले यो संकेत दुवै मितेरी सहरहरुमा समान हुन पनि सक्छ । सन्देश चारः एउटै क्षेत्रको परिणाम देशभरिका लागि सत्य नहुन सक्छ, तर इलामको उपचुनावले रास्वपालाई राम्रै धक्का लागेको छ । चुनाव जित्ने दाबी गरेको रास्वपा प्रारम्भिक मतगणनामा चौंथो स्थानमा रहेर संघर्ष गरिरहेको छ । रास्वपाले चितवन र तनहुमा स्वणर्िम र रवीको नाममा पाएको जुन लोकप्रिय मत थियो, त्यसको नोस्टाल्जीयाका कारण पार्टीले यो उपचुनावमा पनि ठूलै महत्वाकांक्षा राखेको थियो । यो उनीहरुको भ्रम सावित भयो । यसमा चुनावी मुद्दा कमजोर भएर हो वा चुनावी मुहार कमजोर भएर हो, त्यसमा रास्वपालाई गृहकार्यको बाटो खुलेको छ ।

चितवन र तनहुँको उपनिर्वाचनको नोस्टाल्जियाले चुनाव ८४ को परिणाममा रास्वपाले सोचेजस्तो र अरु मुलधारका दलहरुले डर मानेजस्तो फरक नपर्ने सन्देश इलामबाट आएको छ । कांग्रेसले हारेकै उम्मेदवार उठायो । एमालेले बाबुको ठाउँमा छोरा उठायो । रास्वपाले आलोचना गर्ने, राजनीति गर्ने क्षेत्र धेरै पाएको थियो । गर्न खोजेको पनि हो । तर, मतदाताले पत्याएनन् । यसले रास्वपाको चुनाव ८४ को आत्मबललाई नै कमजोर बनाइदिएको छ । पूर्व र पश्चिम दुबैबाट सूर्य उदायो । इलाममा एमाले उम्मेदवार सुहाङ नेम्वाङले बाबुको विरासत जोगाउँदा बझाङमा कांग्रेस उम्मेदवार अभिषेक सिंहले बुवाको विरासत जोगाउन सकेनन् । इलाममा फराकिलो मतान्तर एमाले विजयी हुँदा बझाङमा झिनो मतान्तरले कांग्रेस पराजित बन्यो । प्रतिनिधि सभा निर्वाचन भएको हुँदा एमालेको नजर र प्राथमिकतामा जति इलाम परेको थियो त्यति बझाङ पर्न सकेन । एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटकसम्म इलामा पुगेर सुहाङलाई मत माग्दा बझाङमा भने एमालेका कुनै पदाधिकारी पुगेनन् । बझाङमा खटिएका नेताहरूले शीर्ष नेताहरू उपस्थित नहुँदा पनि पुरै पार्टीको तर्फबाट निर्वाचनको मोर्चा सम्हालेका थिए ।

स्थायी कमिटी सदस्य कणर् थापा र केन्द्रीय सदस्य ऐन महरले बझाङ उपनिर्वाचनको मोर्चा सम्हाले । महिनौँ पहिलेदेखि उनीहरुले एमाले उम्मेदवार जिताउने अभियान सुरु गरेका थिए । स्थायी कमिटी सदस्य थापा मनोनयनदेखि नै मोर्चाको नेतृत्व गरेका थिए । युवामाझ लोकप्रिय महरले थापाको चुनावी नीतिलाई कार्यकर्ताहरूसम्म पुर्‍याउन भूमिका खेले । पार्टी इन्चार्जसमेत रहेका पोलिट व्युरो सदस्य राजेन्द्रसिंह रावल, जिल्लामा रहेका अन्य केन्द्रीय सदस्य भैरव बहादुर सिंह, अफिलाल ओखेडा र आशा विकले पनि साथ दिए । जिल्ला पार्टीका अध्यक्ष रहेका दमन भण्डारी उम्मेदवार बन्दा पुरै पार्टी कमिटी लागेको थियो । कार्यक्रमको सिलसिलामा युरोप भ्रमणमा रहेकी केन्द्रीय सदस्य आशा विक भ्रमण छोट्टाएर निर्वाचनको प्रचार प्रसारमा जुटेकी थिइन् भने उम्मेदवारको लागि भएको आन्तरिक निर्वाचनमा पराजित भएका अफिलाल ओखेडा पनि भण्डारी जिताउने अभियानमा जुटेका थिए । स्थायी कमिटी सदस्य थापा र युवा नेता महरले चुनावी अभियानको लिड गरेका थिए ।

जिल्लाका अन्य पार्टी कमिटीको सक्रियताले एमाले शीर्ष नेताहरूको अभाव नै बझाङमा खड्किएन । ‘यस पटकको निर्वाचनमा सबै नेता कार्यक्रर्ताहरुको उत्साहजनक भूमिका देखियो । सबै मिल्दा एमालेलाई कुनै पनि शक्तिले हराउन सक्दैन भन्ने कुरा बझाङ पुष्टि भएको छ’ चुनावी कमान्डर मध्येका एक महर भन्छन् ‘बझाङ र इलामले मिसन ०८४ स्पष्ट पारेको छ । अब एमालेको एकल बहुमतलाई कसैले रोक्न सक्दैन ।’ निर्वाचनको केही दिन अघि मात्रै उम्मेदवार भण्डारीको बुवा बितेपछि उनी सबै ठाउँमा मत माग्न पनि जान पाएका थिएनन् । निर्वाचन उत्कर्षमा हुँदा भण्डारी किरियामा बस्नु परेको थियो । तर, त्यो बेला पनि एमाले पङ्क्ति सक्रिय ढङ्गबाट लाग्यो र उम्मेदवार विना नै गतिविधि बढायो । यस पटकको उपनिर्वाचनमा बझाङमा सत्ता गठबन्धन भित्रैका दलहरू पनि एक आपसमा भिडेका थिए । एमाले उम्मेदवार २६६ मतले विजय हुँदा गठबन्धनकै दल माओवादी तेस्रो भयो भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारले धरौटी बचाउन सकेनन् ।

यस अघि कांग्रेसका पृथ्वी बहादुर सिंहले जितेको क्षेत्रमा उम्मेदवारको छनोट, नेता कार्यकर्ताहरूको समन्वय र पार्टीको लोकप्रियताको कारण निर्वाचन जितिएको एमाले नेताहरूको ठहर छ । एमालेको आधार इलाका मानिएको बझाङ अब थप बलियो भएको चुनावी कमान्डर कणर् थापा बताउँछन् । ‘बझाङमा एमाले पहिलेबाटै बलियो हो ।अघिल्लो पटक माओवादी र नेकपा एकीकृत समाजवादीको मत पनि पाउँदा कांग्रेस विजयी भएको थियो तर, अहिले पार्टीले आफ्नो विरासत जोगाएको छ’ उनी भन्छन्, ‘अब बझाङमा अरू पार्टीले जित्छौँ भन्ने नसोच्दा हुन्छ ।’ कणर् थापा,ऐन महर लगायतले चुनावी नेतृत्व गरेर केन्द्रीय नेतृत्वको सुझाव र निर्देशन अनुसार पार्टी एकढिक्का भएको हुँदा निर्वाचन जितिएको पार्टी बझाङ सचिव आनन्द विकको बुझाइ छ । ‘बझाङमा एमाले पहिलेबाटै बलियो हो तर, टुटफुटले यहाँ पनि ठुलो समस्या सृजना गरेको थियो । हामी स्थानीय तहमा धेरे ठाउँमा हारेका थियौ, प्रदेश र प्रतिनिधि सभामा पनि जिल्ला शून्य भयो । पुरानै विरासत जोगाउने गरि लाग्यौँ र जित्यौ’ उनले भने ।

फागुन ३ गते केन्द्रीय सदस्य ऐन महरको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृत गरेको थियो । तर, निर्वाचनमा महर सक्रिय नहुँदा पार्टीलाई ठूलो क्षति हुने भन्दै १ महिना पछि अर्थात् चैत्र ११ गते केन्द्रीय सचिवालय बैठकले महरलाई फेरि केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । पार्टीभित्र हुन सक्ने सम्भावित अन्तर्घातबाट जोगाउन पार्टी पूर्व अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्व सभामुख अर्जुन थापाको संयोजकत्वमा समिति पनि तयार गरिएको थियो । निर्वाचन जित्नुमा पार्टी भित्रको एकता पनि एक कारण भएको उक्त समितिको ठहर छ । शोककै अवस्थामा निर्वाचन जितेको हुँदा भण्डारीसँग नेता कार्यकर्ताहरूले उत्साह साट्न सकिरहेका थिएनन् । भण्डारी जिताउने अभियानको नेतृत्व गरेका महरलाई भने विजय जुलुसमै कार्यकर्ताहरूले काँधमा बोकेर नगर परिक्रमा गराएका थिए । उनीहरुले थापा र महरको नेतृत्वले बझाङमा एमालेले विरासत फर्काएको भन्दै पार्टी जिताउने अभियानमा सबै नेता कार्यकर्ताहरूलाई एक ठाउँमा यसै गरी उभिन समेत अपिल गरेका थिए । बझाङमा प्रतिनिधि सभा निर्वाचित एमालेका पुराना नेता भानुभक्त जोशी सहितले एमालेका अर्का पुराना नेता दिलबहादुर सिंहलाई उम्मेदवार बनाउँदा एमालेलाई धक्का पुग्ने आंकलन गरिएको थियो । तर, थापा र महरको नेतृत्वले त्यो आकलनलाई पनि फेल खुवायो । एमाले हराउने आशङ्का गरिएका उम्मेदवारले आफ्नो जमानत समेत जोगाउन सकेनन् ।

इलामको उपचुनावमा जित हासिल गरेर ठूला दललाई अर्को एक झट्का दिने योजनामा रहेको रास्वपा आफैंले झट्का खाएको छ । इलाम २ बाट रास्वपा उम्मेदवार बनेका मिलन लिम्बूले जमानत समेत जोगाउन सकेनन् । रास्वपाले पार्टीभित्रै योग्य आकांक्षीहरू हुँदाहुँदै आयातित उम्मेदवारलाई चुनावमा टिकट दिएको थियो । पार्टी केन्द्रीय सदस्य रमेश प्रसाईंदेखि स्थानीय बौद्धिक नेता महेन्द्रबहादुर थापासम्मलाई पन्छाएर माओवादीबाट भर्खर बाहिरिएका ‘उग्र पहिचानवादी’ युवकलाई उठाउनु नै सम्भावित पराजयको मुख्य कारण रहेको स्वतन्त्र विश्लेषण गरिएको छ । यद्यपि, पार्टीका नेताहरू यो कमजोरी भएको स्वीकार्न तयार छैनन् । रास्वपाले संसदमा एक सीट थप्नका लागि आफ्नो सबै शक्ति इलाममा खन्याएको थियो । रवी आफैं पटक-पटक इलाम गएर २०-३० जनाबीच पनि भाषण गरिरहेका थिए । रमेश प्रसाईं गीत गाएर हिँडिरहेका थिए । सहकारी प्रकरणलाई लिएर भइरहेको चौतर्फी प्रहार र घेराबन्दीबीच चुनाव जितेर आलोचकहरूलाई गतिलो जवाफ दिने अवसर थियो यस नवोदित पार्टीसँग । तर, सभापति रवि लामिछानेले आफ्नै गलत निणर्यका कारण यो अवसर खेर फालेका छन् ।

एउटा क्षेत्रको जनमतले सिंगो देशको प्रतिनिधित्व त गर्न नसक्ला, तर यो रिजल्टले रास्वपाको लोकप्रियता धरमर अवस्थामा छ भन्ने निष्कर्ष निकाल्न चाहीँ सकिन्छ । २०८४ को चुनावमा निकै ठूलो महत्वाकांक्षा राखेको पार्टीका लागि यो एउटा ‘अलार्म बेल’ पनि हो । रास्वपाले इलाम २ मा उम्मेदवार छनोट नै स्वस्थ तवरबाट गरेको थिएन । पार्टीको विधानमा प्राइमरी इलेक्सनबाट उम्मेवार छान्ने व्यवस्था छ, जसलाई नेतृत्वले कुल्चिएकै हो । प्राइमरी इलेक्सनका लागि आह्वान त गरियो, तर त्यो देखावटी मात्रै थियो । रविले पहिल्यै माथिबाट ‘म्याच फिक्सिङ’ गरिसकेका थिए । मिलनलाई उम्मेदवार बनाउने निश्चित भइसकेपछि प्राइमरी इलेक्सनको लागि दरखास्त मागियो । मिलनसहित ६ जनाले दरखास्त दिए । तर, उम्मेदवारीका लागि आवेदन दिनेहरूले आफूलाई परीक्षामा उतार्न पाएनन् । रास्वपा नेतृत्वले नै उनीहरूलाई पार्टी कार्यालयमा बोलाएर साझा उम्मेदवार तय गर्न ‘आग्रह’ गर्‍यो, जुन घुमाउरो तवरबाट दबाब थियो । यदि प्राइमरी इलेक्सन भएको भए महेन्द्रले बाजी मार्न सक्थे । यही डरले गर्दा उम्मेदवारहरूलाई मिलनका नाममा सहमति जुटाउन लगाइयो । सभापति लामिछानेको आशय बुझिसकेपछि कसैले पनि नाइनास्ती गर्न सक्ने अवस्था भएन ।

त्यसो त रास्वपाले विधानमा व्यवस्था गरेको ‘प्राइमरी इलेक्सन’ केवल हात्तीको देखाउन दाँतमात्रै बरिहेको छ । अघिल्लोपटकको उपचुनावमा स्वणर्िम वाग्ले र रमेश खरेललाई पनि ‘सेटिङ’ मै उम्मेदवार बनाइएको थियो । उनीहरूले पनि प्राइमरी इलेक्सन लड्नु परेन । अरु आकांक्षीलाई नेतृत्वले नै ब्याक गराएर उनीहरूलाई उम्मेदवार बनाइएको थियो । यसपालि पनि त्यसैगरी लामिछानेले मिलन लिम्बूलाई आफ्नै हातले टीका लगाइदिए । पार्टी विधानले व्यवस्था गरेको स्वस्थ प्रतिस्पर्धात्मक व्यवस्थालाई उनले आफ्नै पैतलाले कुल्चिदिए । यसमा लिम्बूसँग लामिछानेको पुरानो व्यक्तिगत सम्बन्धले पनि काम गर्‍यो नै होला । रास्वपाको उम्मेदवारी छनोट के कारणले पनि आलोच्य थियो भने मिलन लिम्बूले आजका दिनसम्म बोकिरहेको उग्रवादी धार पार्टीको मध्यमार्गी धारसँग मेल खाँदैनथ्यो । रास्वपा र लिम्बू दुवैले आ-आफ्नो एजेन्डा र विचारविपरीत सम्झौता गरेका थिए ।

मिलन कोशी प्रदेश नामकरणका विरुद्धमा उत्रिएको पहिचानवादी समूहका एक सक्रिय कार्यकर्ता हुन् । जबकि रास्वपाले कोशी प्रदेश नामकरणको विरोध गरेको छैन । मिलन जातीय संघीयताको कट्टर अनुयायी हुन् भने रास्वपा संघीय प्रणालीकै आलोचक हो । उम्मेदवार छनोट भइसकेपछि मिलनले रास्वपाले आफ्नो एजेन्डा स्वीकार गरेको दाबी गरेका थिए भने रास्वपाले पार्टीको एजेन्डाप्रति मिलनले प्रतिवतद्धता जनाएको दाबी गरेको थियो । खासमा दुवै झूट्टा थिए । रास्वपासँग प्रभावशाली जनजाति नेताको खडेरी छ । मिलनलाई पूर्वी क्षेत्रको पहिलो जनजाति नेताका रूपमा स्थापित गर्ने दिर्घकालीन सोचसहित पार्टीमा भित्र्याएर टिकट दिइएको एक नेता बताउँछन् । तर, चुनाव हारिसकेपछि मिलन लिम्बू रास्वपामै रहन्छन् भन्नेमा पार्टीभित्रै धेरैलाई शंका छ । जसरी रमेश खरेल बारामा उपचुनाव हारेपछि रास्वपाबाट टाढिए, अहिले रवि लामिछानेकै खेदो गरेर हिँडिरहेका छन्, मिलनको हकमा पनि त्यो दिन टाढा नहुन सक्छ ।

रास्वपा प्रवेश गर्नुभन्दा एक महिना अगाडिसम्म मिलन नेकपा माओवादीको एक जिम्मेवार कार्यकर्ता थिए । माओवादीले इलाम २ मा टिकट नपाउने भएपछि उनले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरे । त्यसबेला मिलनले आफू रास्वपामा जाने कुनै सम्भावना नभएको बताएका थिए । एउटा अन्तर्वार्तामा उनले रास्वपा अरु पुराना पार्टीहरूजस्तो भइसकेको टिप्पणी गरेको भिडिओ पनि चुनावअगाडि भाइरल भइरहेको थियो । तर, त्यसको केही दिनमै उनले रास्वपाको सदस्यता र चुनावको टिकट एकैपटक लिए । यसले पनि लिम्बूको चरम अवसरवादीता छर्लंङ्ग हुन्छ । केहीअघि मात्रै नेपाल पत्रकार महासंघले निकालेको महासंघका पूर्व अध्यक्षहरुको नालिबेलीसम्वन्धी किताब बिमोचन कार्यक्रममा गएर उद्दण्डता मच्चाउने एक प्रमुख पात्र मिलन नै थिए । कृष्णप्रसाद भट्टराईलाई महासंघको संस्थापक अध्यक्ष लेखिएको विरोधमा उनीसहितको जनजाति पत्रकारहरुको समूहले मञ्चमै उक्लिएर अग्रज पत्रकारहरुको हातबाट किताब खोसेर च्यातिदिएको घटनालाई कांग्रेसका मतदाताले पक्कै नोटिसमा राखेका छन् ।

रास्वपाले ‘जसरी पनि चुनाव जितेर संसदमा एक सिट थप्ने’ ध्येयले एकजना अतिवादी युवालाई उम्मेदवार बनाउँदा बुमर्‍याङ खानुपरेको स्पष्टै छ । चुनावअगाडि स्थानीय वस्तुस्थिति बुझ्न भनेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा खटाइएको थियो । निकै दिनसम्म इलाममा बरालिएका उनले पार्टीलाई पनि मज्जाले बराले । त्यहाँ चुनाव जित्नलाई जनजाति र पहिचानवादी उम्मेदवार नै चाहिने भनेर गलत रिपोर्टिङ गरेपछि रास्वपाले मिलनलाई पछ्याउन थालेको हो । उनको ‘क्षेत्रीबाहुन विरोधि छवि’ पहिल्यैदेखि थियो । त्यसमाथि चुनावको मुखैमा भाइरल भएको भिडिओले उनलाई निकै विवादित बनायो ।

‘हामीलाई अघिल्लो चुनावमा जनताले आशाको मत दिएका थिए । उम्मेदवार नै नचिनिकन पनि घन्टीमा भोट हालेका हुन् । अहिले चाहीँ हामीले सरकारमा गएर आशा जगाउने काम गर्न सकेनौं कि भन्ने लाग्छ । बिहानीले दिनको संकेत गर्छ भने झैं हामीले पनि त्यस्तो संकेत दिन सकेको भए इलाममा घरदैलो नै नगरे पनि चुनाव जित्ने थियौं,’ उनले भने । पार्टीको विधानमा प्राइमरी इलेक्सनबाट उम्मेवार छान्ने व्यवस्था छ, जसलाई नेतृत्वले कुल्चिएकै हो । प्राइमरी इलेक्सनका लागि आह्वान त गरियो, तर त्यो देखावटी मात्रै थियो । रविले पहिल्यै माथिबाट ‘म्याच फिक्सिङ’ गरिसकेका थिए । जे होस् इलाम २ को चुनावले रास्वपालाई राम्रै धक्का लागेको छ । एउटा क्षेत्रको जनमतले सिंगो देशको प्रतिनिधित्व त गर्न नसक्ला, तर यो रिजल्टले रास्वपाको लोकप्रियता धरमर अवस्थामा छ भन्ने निष्कर्ष निकाल्न चाहीँ सकिन्छ ।


सम्बन्धित खवर