
काठमाडौं, १२ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अत्याधुनिक तथा सुविधासम्पन्न फुटबल रंगशाला निर्माण गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई प्रधानमन्त्रीको कार्यालयमै बोलाएर खेल क्षेत्रको बढ्दो दायरासँगै दशरथ रंगशाला साँघुरो भएको र अब भक्तपुरको सूर्यविनायकमा आधुनिक रंगशाला निर्माण गरिने विषयमा कुराकानी गरेका हुन् ।
सूर्यविनायक नगरपालिकाको जगातीमा प्रस्तावित ५० हजार दर्शक क्षमताको रंगशालाका लागि आवश्यक जग्गा प्राप्ति र अन्य पूर्वाधार सम्बन्धी महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।
उक्त महत्वपूर्ण छलफलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाको समेत उपस्थिति रहेको थियो ।