काठमाडौं । कम्युनिष्ट विचारका प्रणेता कार्ल माक्र्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए । अफिमको नशाले मानिसलाई असामान्य तुल्याए जस्तै धर्मका नाममा व्याप्त भयानक अन्धता र जडताले समाजलाई घातक हुने देखेरै तत्कालीन समय अनुरुप उनले त्यसो भनेका हुन सक्दछन् । उसो त उनको समय १९ औं शताब्दीमा धार्मिक अन्धविश्वासको कारणले द्वन्द्वको बिजारोपण हुने र धार्मिक युद्ध भड्किने खतरा रहेकाले उनको अफिमसँग गरिएको चित्रण यथार्थपरक हुनसक्दछ । आजको जस्तो सामाजिक उन्नयनको अवस्था नभएर शैक्षिक जागरणको कमीले अज्ञानताले धर्मको कारण अनिष्ट हुने अवस्था थियो होला । तर विज्ञान र प्रविधिको चरम विकासले आजको परिस्थिति भिन्न छ । सञ्चार प्रविधिले विश्वलाई साँघुरो बनाउँदै असिमित ज्ञानले मानिसहरुको चेतनाको बृहत्तर विकास भएको छ ।
आज मानिसहरु अन्धविश्वासको जडताबाट मुक्त भएका छन् । हरेक विषयवस्तुको सहजै ज्ञान प्राप्त गर्न सक्दछन् । आजकाल सर्वसुलभ पहुँचमा रहेको सञ्चार सामाग्रीको माध्यमबाट हरेक विषयमा जानकारी लिन सक्षम छन् । आफ्नो धारणा बनाउन र स्ववीकले निर्णय गर्न सामथ्र्यवान छन् । उनीहरुको आफैं वास्तविकता ठम्याउने ल्याकत राख्छन् । र सोही अनुरुप गन्तव्य तय गर्दछन् । सबैले स्वतन्त्रतापूर्वक आफ्नो विचार अंगीकार गरिरहेका छन् । विश्वका कतिपय धार्मिक कट्टरपन्थी सम्प्रदायमा बाहेक अन्यत्र मानिसहरु विवेकपूर्ण ढंगले धार्मिक गतिविधिमा संलग्न छन् । त्यो उनीहरुको नैसर्गीक अधिकार हो । हाम्रो जस्तो बहुसंख्यक हिन्दु धर्मावलम्बी भएको देशमा अनेकौं धार्मिक सम्प्रदायबीच मेलमिलापपूर्ण रुपमा सदियौंदेखि बसिरहेका छौं। हरेकले एक अर्काको धर्म संस्कृतिको सम्मान प्रकट गरिरहेको अवस्था विद्यमान छ ।
कम्युनिष्ट र पूजापाठ (धर्म कर्म) एक अर्काका विपरीतार्थ शब्द हुन्, उल्टो सिद्धान्त हुन् । कम्युनिष्ट राजनीतिक चिन्तनको मुख्य दर्शन मार्क्सवाद हो । मार्क्सवाद विशुद्ध भौतिकवाद हो । मार्क्सवाद वैज्ञानिक समाजवादमा विश्वास राख्छ । द्वान्द्वात्मक भौतिकवाद मार्क्सको सम्पूर्ण विचारको सार र मुख्य दार्शनिक पक्ष मानिन्छ । वस्तुतः यो दर्शन अनिश्वरवादी, भौतिकवादी दर्शन भएकोले यसले भौतिकवादी आलोकबाट जीवन र जगतलाई नियाल्छ । नास्तिक दर्शन भएकोले आस्तिक दर्शनसँग यसको ठूलो भेद नै मृत्युपछि र मृत्यु अघिको जन्म मरणको चक्र हुन्छ या हुन्न भन्ने कुरामा आधारित छ । भौतिकवादी दर्शनका केही विशिष्ट अभिलक्षणहरू हुन्छन् । निरिश्वरवाद भौतिकवादी दर्शनको प्रमुख लक्षण हो । ईश्वरको सार्वभौमिकताको विरोध गर्छ । ईश्वरको अस्तित्वलाई नै ठूलो चुनौती भौतिकवाद हो ।
मार्क्सवादी मान्यता अनुसार सृष्टिको विकास र निर्माण पदार्थद्वारा भएको हो र हुन्छ न कि ईश्वरबाट ? ईश्वरको अस्तित्वलाई नकार गर्ने सिद्धान्त मार्क्सवाद भएको कारण मार्क्सवादीहरू अर्थात् कम्युनिष्टले ईश्वर मान्दैनन् । कम्युनिष्टले ईश्वर मान्नु भनेको ऊ पूर्ण रूपमा कम्युनिष्ट चिन्तनबाट मुक्त हुनु हो । कम्युनिष्ट नरहनु हो । धर्म र अविज्ञानको शरणमा जानु हो । विज्ञानको उज्यालो छोडेर अन्धविश्वासको सुरुङमा धकेलिनु हो । मार्क्सवाद धर्मको विरोधी हो, जसले धर्मलाई अफिम मान्दछ । धर्मले अनावश्यक रूपमा मान्छेको उत्पादनशील समय र ऊर्जा सकाएको आरोप मार्क्सवादले लगाएको छ । यसर्थ भुलेर पनि कम्युनिष्ट लिडर धर्मको आड लिन सक्दैन । अमूर्त वस्तु र चिजका रूपमा ईश्वरको अस्तित्व इन्कार गर्दै पदार्थ निर्मित संसार मान्दछ । प्रकृतिका सबै वस्तु एक अर्कोसँग सम्बन्धित छ । भौतिक वस्तु परिवर्तनशील हुन्छ । नयाँ समाज निर्माण गर्न चाहने दर्शनले अवैज्ञानिक अप्रमाणिक काल्पनिक कुराको पछि लाग्दैन धर्म, अनुष्ठान पूजापाठ गरेर समयलाई व्यर्थ र अनुत्पादक कुरामा खर्च गर्दैन ।
असाक्षात चिजलाई नमान्नु र धर्मलाई ढोंगको उपमा दिनु कम्युनिष्टहरूको कर्तव्य हो । यसर्थ कम्युनिष्टका नेताहरू मन्दिर जानु हुँदैन, पूजापाठमा सरिक बन्न हुँदैन । समय व्यर्थ खेर फाल्नु हुँदैन । काल्पनिक ईश्वरको अधिनायकत्वलाई खारेज गर्दै सर्वहारा वर्गको नायकत्व स्थापनार्थ लाग्ने समय आफ्नो प्रमुख विरोधी सिद्धान्तको समर्थन पूजा आराधना भक्तिका लागि खर्चनु किमार्थ सुहाउने विषय होइन । कम्युनिष्ट हुनु भनेकै धर्ममा विश्वास नगर्नु हो । यो संसारको नियामक निकाय र व्यक्ति अर्को कोही छैन भन्ने मान्नु हो । मुक्ति र मोक्ष पाप र धर्मलाई अस्वीकार गर्नु हो । संसारमा ईश्वर छैनन्, ईश्वर छन् भन्नु भनेको आफैँलाई छल्नु हो भन्ने बुझाई पछि मात्रै कोही कम्युनिष्ट हुन्छ । ईश्वरमा विश्वास राखेर कसैले आफूलाई कम्युनिष्ट भन्छ भने त्यो सरासर सिद्धान्त विरोधी कुरा हो, कम्युनिष्ट पाखण्ड हो, कम्युनिष्ट नामलाई बेचेर जीविका चलाउने मेसो हो । तत्कालीन प्रधान केपी ओली र माधव नेपालले पनि आफ्नो कम्युनिष्ट सिद्धान्त विपरीत २०७५ मा होली वाइन सेरेमोनीका लागि जुन सक्रियता देखाए । जसरी सरकारी ढुकुटी उपलब्ध गराए त्यो धर्मको माध्यमबाट गरिएको राजनीति थियो ।
राजनीतिमा कम्युनिष्ट सिद्धान्तको अन्त्येष्टि थियो । त्यसै गरी तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पशुपतिमा करिब एक अरबको सुनको जलहरी चढाए, धर्मको राजनीतिलाई बढावा दिएर राम,सीता र हनुमानको मूर्तिको रथयात्रा बालुवाटारदेखि चितवनको ठोरीसम्म चलाए । आम मान्छेको हकमा सामान्य कम्युनिष्ट नेता कार्यकर्ता जसले सिद्धान्त पढेका छैनन् बुझेका छैनन् तिनको हकमा यो नियम लागू नभए पनि जो पढेलेखेका छन्, जो कम्युनिष्ट पार्टीका नेता छन् । जसलाई कम्युनिष्ट सिद्धान्तले समाज परिवर्तन हुन्छ भन्ने विश्वास छ तिनका हकमा ईश्वर छैनन् । यो लोक भन्दा अर्को कुनै दोस्रो, तेस्रो लोक छैन,स्वर्ग भ्रम हो पृथ्वी मात्रै वास्तविकता हो । पञ्च तत्वद्वारा निर्मित शरीर मृत्यु पछि पनि यही धर्तीमा विलीन हुन्छ अन्यत्र कहीं जाँदैन । स्वर्ग नर्कको भ्रम देखाएर गरिने भयको व्यापार ठगी खाने प्रवृत्ति कै अर्को रूप हो । सन् १८४८ मा मार्क्स र एंगेल्सद्वारा जारी कम्युनिष्ट घोषणा पत्रको योजनामा साम्यवाद स्थापनाको लक्ष्य छ जसमा ईश्वरको स्थान छैन तव असली कम्युनिष्टलाई धर्म मान्ने छुट पक्कै छैन । मार्क्सवादी पनि हुने भौतिकवादलाई आफ्नो लक्ष्य पनि मान्ने ईश्वर पनि मान्ने यो हास्यास्पद तरिका हुन्छ । कम्युनिष्ट दर्शनको प्रतिपादक मार्क्स होइनन् र उनको आदर्श नपछ्याउने हो भने जे भन्न पनि पाइयो, जसो गर्न पनि मिल्छ ।
धर्मप्रति कम्युनिष्टहरूको दृष्टिकोण ः ठग, फटाहा र ब्राम्हणहरूले अनेक काल्पनिक भ्रम खडा गरेर शोषण र दमन गर्ने नीति अवलम्बन गरेका हुन् धर्म र ईश्वरको अवधारणालाई । मृत्युपछि जाने बाटो र पुग्ने ठाउँ छैन । न जन्म पूर्व नै आमाको कोखभन्दा अन्यत्र कतै पनि निवासस्थल थियो, न मृत्युपछि कसैको कोख ग्यारेण्टी हुन्छ ? जन्म अघिको कुरा र मृत्यु पछिको कुरा गरेर, पूर्वजन्मको पाप धर्मको भय देखाएर, पछिल्लो जन्मको कुरा गरेर जे जे प्रपञ्च गरिन्छ र भ्रमको पर्दा भित्र राखेर मान्छेलाई अलम्लयाइन्छ त्यो निन्दनीय विषय हो, मानव प्रगति र उन्नतिको बाधक हो । कम्युनिष्टहरू जानेर बुझेर पढेर धर्म नमान्ने भएका हुन् । धर्ममा विज्ञान छैन धर्ममा कल्पना छ त्यो वास्तविक होइन ित्यसैले धर्म मान्नु ठीक छैन । धर्म अन्धविश्वास हो । धर्म अवैज्ञानिक कर्म हो । अलौकिक र परलौकिक ज्ञान सत्य होइनन् । लौकिक ज्ञान र तथ्य मात्रै सत्य हो । यो संसारलाई सुन्दर र हराभरा बनाउनु पर्छ । नभएको परलोकको चिन्ता र विश्वास गर्नु बेकार हो ियो संसारको नियामक अर्को कोही छैन मान्छे नै हो । प्रत्यक्षवादमा विश्वास,अप्रमाणिक कल्पना मान्दैन ।
प्रचण्डको भारत भ्रमणमा महाकालेश्वरको तीर्थाटन र पशुपतिको दर्शनमा पहिलो पटक प्रचण्डको उपस्थितिलाई सङ्केत गर्दै दिनेश गुरागाई लेख्छन् ः ‘मठ मन्दिर, धर्म, संस्कृति आफ्नै बा को पेवा नभए पनि हामी मन्दिर किन पनि जान्छौं भने जहाँ मेरो बा जानु हुन्थ्यो, आमा जानुहुनथ्यों, परिवारका अन्य सदस्य जानुहुन्थ्यो त्यसकारण आआफ्नो धर्म अनुसार कोही मन्दिर, कोही मस्जिद कोही चर्च कोही गुम्बा जाने गर्छौं । कुनै पनि धर्म हामीले जानेर बुझेर र पढेर धारण गरेको होइन, बुझेर धार्मिकस्थल जाने गरेको पनि होइन, तर कम्युनिष्ट सर र मिसहरू जो नेता हुनुहुन्छ उहाँहरू पढेर, जानेर बुझेर ईश्वरीय धर्म इन्कार गर्दै कम्युनिष्ट बन्नु भएको हो । ईश्वर नमान्ने सिद्धान्त अवलम्बन गर्नु भएको हो । नास्तिक बन्नु भएको हो । नास्तिकलाई आस्तिकको भावनामा चोट पुर्याउने हक हुन्न । अयथार्थ ज्ञानलाई मान्दैन, धर्म ईश्वर गलत ज्ञान हो । पाप र पुण्य मान्दैन । धर्मलाई पुरुषार्थ मान्दैन यसले अर्थ र कामलाई पुरुषार्थ मान्छ । इपू ५०० वर्ष अघिको चार्वाक दर्शनसँग मार्क्सवादको सामीप्यता देखिन्छ िइहलोक मान्ने परलोक नमान्ने । यो लोक ईश्वरद्वारा रचित संसार होइन िअप्रमाणिक तथ्य मान्दैन । भौतिकवाद यसको दार्शनिक धरातल हो । भौतिकवादीहरूलाई गेरुवस्त्र लाएर, चन्दन घसेर, गाईको गहुत खाएर, जनै छडके भिरेर अन्धविश्वासी भएर हिँड्न मिल्दैन िआवरणमा विज्ञान आधुनिकताको पृष्ठपोषण गर्ने वरणमा अन्धविश्वास बोकेर हिँड्ने कस्तो र कत्रो विरोधाभास ?
क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पनि टप लिडर सुप्रिमो र देशको प्रधानमन्त्रीलाई यस्तो पाखण्ड सुहाउँछ र ? सुहाएन है प्रधानमन्त्री ज्यू ? जनयुद्धको कारण पण्डित नारायण पोख्रेल मारिए, कति मन्दिर भत्काइए ? कति पुजारीको जनै चुँडालियो, टुप्पी काटियो, पुरेतहरूको अपमान गरियो, मन्दिरमा गाईको आन्द्रा बेरियो तब आज जुन गाई जात्राको प्रहसन हुँदैछ यो किमार्थ स्वीकार गरिनन् । एउटा व्यक्तिका रूपमा तपाईँको धार्मिक स्वतन्त्रताप्रति आम मान्छेले टिप्पणी गर्दैनन् तर एउटा आन्दोलन हाँकेर आएको नेतामा देखिएको यो हदको वैचारिक स्खलनप्रति प्रश्नहरू उठ्छन् । तपाईँ धार्मिक आध्यात्मिक बन्न सक्नु हुन्छ तर हिजो गरेको धर्म संस्कार प्रतिको ज्यादतीप्रति सार्वजनिक रूपमा माफी अपेक्षित छ । कम्युनिष्ट भएर मन्दिर जाने, पूजा गर्ने आम मान्छेको स्वतन्त्रताको कदर गरिन्छ जसले कम्युनिस्ट दर्शन पढेका छैनन् बुझेका छैनन् तर तपाईँँहरू जसले कम्युनिष्ट दर्शन पढ्नु भयो पढाउनु भयो, तपाईँहरूले नै धर्मको बहस पैरवी गर्न नैतिकता बाधा बन्दैन र ?
…….
अझै अन्य धर्मभन्दा हिन्दु धर्मको परम्परागत धार्मिक कार्य निकै उदार र लचक शैलीको छ । कसैप्रति कठोर नभएको हिन्दु धर्मले धार्मिक क्रियाकलापमा पनि बलजफ्ती गरिँदैन । स्वेच्छाले धार्मिक गतिविधिमा हिन्दु धर्मावलम्बीहरुले सक्रियता जनाउँछन् । माक्र्सले जतिबेलाको सामाजिक अवस्थाको चित्रण गरेर धर्मलाई अफिमको संज्ञा दिएका थिए । त्यस्तो परिस्थिति आज रहेन । बिल्कुलै भिन्न परिवेशबाट विश्व व्यवस्था गुज्रिरहेको छ । सायद उनी जिवीत भएकै भए यसको धारणा समयानुकूल भिन्नै बनाउँथे होला । उनको दर्शन अनुशरण गरेर राज्य व्यवस्था निर्माण गरिएका देशहरु समेत आज सो दर्शनबाट च्यूत भइसकेका छन् । कतिपय मुलुकमा उनको आदर्श बाह्य आवरणमा पछ्याएको देखिएपनि सोही चरित्र कायम हुन सकेको दखिँदैन। आज उनको विचार विश्वभर रक्षात्मक अवस्थामा पुगेको छ । नेपालको हकमा भने कम्युनिष्ट आवरणका दलहरु अझै पनि सक्रिय र बलशाली रहेको देखिन्छन् । संसदीय व्यवस्थामा रुपान्तरित भए पनि बलियो संसदीय हैसियत कायम गरेका छन् । यद्यपि व्यवहारतः कम्युनिष्ट हुन् या होइनन् त्यो फरक विश्लेषणको पाटो हो ।
नेपालमा उनकै अनुयायीहरु आफूलाई असली कम्युनिष्ट बताउने र समयानुकुल परिवर्तत भएको भन्दै धर्मभिरु बन्न उद्दत देखिन्छन् । लामो समय देशमा आमूल परिवर्तन गर्ने भन्दै शिरमा कफन बाँधेर मुक्ति या मृत्युको कसम खाएर आमूल परिवर्तनका लागि बलिभेदीमा चढ्न तयार भएकाहरु आज मठ मन्दिरमा गेरुवस्त्र लगाएर आशीर्वाद थाप्न लामबद्ध छन् । विगतको प्रायश्चित हो या वर्तमानमा आवश्यकता बोध गरेरै हो । माक्र्सका अनुयायीहरु पूजा अर्चनामा तछाडमछाड गरिरहेको दृष्यले जो कसैलाई अचम्मित बनाउँछ । किनभने उनीहरुको वर्तमान अवस्थामा रुपान्तरण देख्दा यसले विगतमा उनीहरुले गरेको धर्मप्रतिको कटुता र विषवमन सोच्न विवश बनाएपछि मानिसहरु सार्वजनिक रुपमा अनेकौं टिकाटिप्पणी गर्न बाध्य हुन्छन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा सर्वाधिक मात्रामा देखिने यस्ता चरित्रले उनीहरुको विगत र वर्तमानको तादाम्यता नमिलेको मात्रै होइन। विगतमा दिएको आहातले झस्काउने गर्दछ ।
हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिने भारत भ्रमणका क्रममा शुक्रबार मध्यप्रदेशको उज्जैनमा गेरुवस्त्र धारण गरेर महाकालेश्वरको मन्दिरमा १०८ किलो रुद्राक्ष र ५१ हजार दक्षिणा चढाएर दृष्य अहिले सर्वाधिक चर्चाको विषय बनेको छ । विगतमा प्रधानमन्त्री दाहालकै नेतृत्वमा भएको जनयुद्धमा नेपालका मठ मन्दीरहरुमा गरिएको उद्धण्डता र धार्मिक कार्यमा संलग्नमाथिको अभद्र व्यवहारले भने दाहालको अहिलेको दृष्यले आश्चर्यचकित तुल्याएको छ । हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको कहिल्यै दर्शन नगरेका प्रधानमन्त्रीलाई राजनीतिक र अध्यात्मिक साथ पनि भारतकै अपरिहार्य ठानेर गरिएको हो कि भन्ने आशंकाले देशवासी हिन्दु धर्मावलम्बीहरुलाई सोचमग्न बनाएको छ । जनयुद्धको क्रममा वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको हत्या, गौहत्या र संस्कृत भाषामाथिको आक्रमणले माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई धार्मिक भेषभुषामा रहँदै महाकालेश्वरको पूजापाठ गर्ने अवस्था बाध्यात्मक हो या स्वेच्छिक? प्रश्न निकै पेचिलो तवरले तेस्रिएको छ । ती विगतका अपराधको ग्लानी महसुस गर्दै प्रायश्चित गरेको त होइनन्? भन्ने प्रश्न खडा भएको छ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको पार्टीले दौरा सुरुवाललाई सामन्तको पर्याय ठान्ने गर्दथ्यो । उनकै नेतृत्वमा सुरु गरिएको जनयुद्धमा जातीय पहिचानको मुद्दा उठान गरिएको थियो । विगतमा पहिचानमा आधारित संघीयताको नाममा जातीय राज्य दिलाउन प्रयत्नशील रहेको माओवादी शक्ति सन्तुलनका दृष्टिले कमजोर बन्दै गएपछि उक्त मुद्दाबाट पछि हटेको हो । त्यस बखत सबै जातजाति भाषाभाषिको पोशाक नै राष्ट्रिय पोशाक भएको अभिव्यक्ति दिने गर्दथे । जनयुद्धकालमा धार्मिक कार्यलाई रुढीवादी परम्पराको संज्ञा दिँदै त्यसको अन्त्य गर्न बलजफ्ती समेत गरेको दृष्टान्त कैयौं छन् । त्यसको बाबजुद आज उनै प्रचण्ड धार्मिक कार्यमा गेरुवस्त्र धारण गरेर सरिक भइरहेका छन् । जनयुद्ध कालमा सामन्तहरुले लगाउने भन्दै दुत्कार्ने उनी आज संसदीय राजनीतिमा अवतरण भएसँगै तेस्रो पटक प्रधानमन्त्री बन्दा उनमा दौरा सुरुवाल मोह बढेको छ ।
यस पटक प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएर शपथ लिएका थिए। गत पुष १० गते प्रधानमन्त्री नियुक्त भएका उनले ११ गते शपथ ग्रहणका दिन लगाएको दौरा सुरुवाल आजपर्यन्त सार्वजनिक कार्यक्रममा त्यही पोशाकमा उपस्थिति जनाउँछन् । नेपालको समकालीन कम्युनिष्ट नेताहरुमध्ये बहालवाला प्रधानमन्त्री प्रचण्डको राजनीतिक पृष्ठभूमि फरक छ । उनी हार्डलाइनर कम्युनिष्ट आन्दोलनमा नेतृत्वदायी रुपमा सहभागी हुँदै शान्तिपूर्ण राजनीतिमा अवतरित भएका हुन् । २०२८ सालमा विभिन्न घटकमा विभाजित कम्युनिष्ट पार्टीमध्ये तत्कालीन पुष्पलाल समूहबाट राजनीतिक यात्रा थालनी गरेका प्रधानमन्त्री प्रचण्डले रुपलाल विश्वकर्मा मार्फत २०३५ सालमा पार्टी सदस्यता लिएका थिए । पुष्पलाल समूहबाट राजनीति सुरु गरेका उनी त्यस यता छोटो समयमै २०४५ सालमा नेकपा(मशाल) नामक पार्टीको महामन्त्री भएका थिए । उनै प्रचण्ड अनेकौं चुनौतीपूर्ण राजनीतिक आरोह अवरोहको पार गर्दै अहिले देशको तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । र पार्टी अध्यक्ष पनि आजीवन जस्तै बनेका छन् ।
उनको हालसम्मको राजनीतिक यात्रा केही समय कष्टप्रद र बाँकी छलाङ्मय देखिन्छ । २०५२ सालदेखि जनयुद्ध सुरु गरेका उनी त्यस अवधिमा राज्यको चौतर्फी निसानामा थिए । उनलाई राज्यले आतंककारी घोषणा गरेको थियो र उनको टाउकाको मोलसमेत तोकिएको थियो । तसर्थ त्यो समय उनका लागि कष्टप्रद समयका रुपमा लिन सकिन्छ । यद्यपि उनको छलाङमय राजनीतिकोृ उदय समेत त्यही दशबर्षे जनयुद्धकै उपज हो । जनयुद्ध सुरु गर्नु अगावै उनको तत्कालीन पार्टी नेकपा(एकताकेन्द्र)को चुनावी मोर्चाको संसदीय हैसियत तेस्रो पार्टीको रुपमा संसदमै थियो । उनी संसदीय राजनीतिमा कुनै भविष्य नदेखेरै जनयुद्धमा होमिए । त्यसको नेतृत्व गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरित भएको पनि १७ वर्ष पुगिसकेको छ । पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२० सिट र समानुपातिक तर्फ १०० गरि २२० सिटसहित संसदको पहिलो शक्ति बनेको माओवादी अहिले खुम्चिएर ३२ सिटमा पुगेको छ । तैपनि अहिले उनी देशको कार्यकारी प्रधानमन्त्री पदमा विराजमान छन् ।
देशलाई कायापलट गर्ने लक्ष्यका साथ सुरु गरिएको जनयुद्धमा सहभागी सहयात्रीहरु छिन्निभिन्न भएजस्तै उनको जीवनमा पनि निकै उलटफेर आएको छ । आफ्नै नेतृत्वमा बदल्न हिँडेको व्यवस्थामा आफैं बदलिएर आउनुपर्दा निश्चय पनि असहज लाग्नु स्वाभाविकै हो । उनी त्यसैको ह्याङओभर व्याप्त रहेको कहिलेकाही व्यवहारमा दर्शाउन समेत पछि पर्दैनन् । त्यसकै उपज जनयुद्धमा जस्तै अहिले भ्रष्टाचार विरुद्धको जोखिमपूर्ण यात्रामा निस्केको बताउँछन् । भने कहिले कहाँ आइयो भन्दै अन्यौलता दर्शाउँदै संसदीय व्यवस्थामा विश्वास नभएको अभिव्यक्ति दिन्छन् । बेलाबखतमा जनयुद्धको स्मरण गर्छन् । तर,जनयुद्धको उदेश्य र वर्तमान राजनीतिको तादाम्यता उनको जीवनमा मिलेको जस्तो देखिँदैन । त्यसैका बाछिटाहरु समयानुकुल द्वैध चरित्रमार्फत प्रकट भैरहेका हुन्छन् । अन्ततः संसदीय पुराना पार्टीहरुसँग प्रधानमन्त्री बन्न लालायित हुँदै अनुनय विनय गर्न पछि पर्दैनन् । यी र यस्ता बहुरंगी चरित्रले नेपालको राजनीति उनीबाट आजित भइसकेको छ । उनको वास्तविकता बारे नेपालीजन जानकार छन्। सोही कारणले उनको जनमत घट्दो क्रममा रहेको चुनावी परिणामले देखाउँछ । जनयुद्धमा सांस्कृतिक रुपान्तरणका नाममा गरिएको हिन्दु धर्मप्रतिको आक्रमण अहिले आएर भैँसी पूजा हुँदै गेरुवस्त्रधारण गरेर प्रायश्चित गर्ने ध्याउन्नमा लागेका छन् ।