फुलनदेवी अर्थात् बैंडिट क्वीन


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

∆ रघु परियार , काठमाडौं । । । । । । । । । । । । । । । । । । । ।
Bandit queen हेरिसके पछि म फुलनदेवीलाई सम्झिएर कयौं रात राम्ररी निदाउन सकिन। वाह! तिम्रो साहस।म पटकपटक बर्बराइ मात्र रहेको थिएँ।एउटी मल्लाह समुदायकी नारी ।भारतीय समाजको उत्पीडित समुहकी चेली ।जस्को एघार बर्षकै कलिलो उमेरमा बिहे भएको थियो ।आफ्नै पतिबाट बलात्कृत भएको पल ।त्यो रोदन।त्यो चिच्याहट।गाउँ ,समाजको छि:छि: र दुर्दुरी ।अहँ ….म सक्दै सक्दिन थेग्न ? मेरो शरीर भरि काँढा उम्रिन थाल्छ…..।सिमा बिश्वासको अनुहार मेरो स्मृति पटलमा नाचिरहन्छ फुलनदेवीको प्रतिरुप बनेर ।

प्रत्येक दृश्य पिच्छे एउटा भावुक ब्यक्तिको मन थामिदैन ।म पटकपटक भक्कानिएको छु। त्यो अबोध चेहरा ।मासुम अनुहार ।आँखाबाट खस्न नसकेर भित्रभित्रै लुकाइएका आँसुहरु।समाजमा छ्यालब्याल हुन नपाएर मनभित्र थुप्रिएका पीडाहरु।रुन नपाएर बरफझैं जमेका रोदनहरु।पोख्न नपाएर आगोझैं दन्किएका हृदयका आक्रोशहरु ।उकुसमुकुस ब्यथाहरु।नजानिदो तरिकाले लेखिएका अब्यक्त कथाहरु।म महशुस गर्छु -आँखा बन्द गरेर।अहँ कत्ति पनि थामिन सक्दिन म।र जोडले चिच्याउन मन लाग्छ फुलनदेवी भनेर ।म सक्दिन ।यताउता हेर्छु ।मेरो काठमाडौंको साघुँरो कोठा।बाहिरको हल्ला ।कोठापिच्छेका थरिथरिका छिमेकी ।सम्हालिन प्रयत्न गर्छु।

एउटी खुङ्खार डाकुदेखि लोक सभा सांसद सम्मको यात्रा ।जातीय उत्पीडन ,लैङ्गिक उत्पीडन ,सांस्कृतिक उत्पीडन ,सामाजिक उत्पीडन देखि गरिबी ,रेप,अपमान,डकैती सम्मको एकमुष्ट लडाइँ ।एउटी वीराङ्गनाको कथा।कथा भन्दा पनि बढी ब्यथा। ब्यथा भित्रको थामिनसक्नु अभाव र पीडा।कुनै समयको डरको अर्को नाम।फुलनदेवी-ब्यक्ति एक तर अनेकौं ब्यक्तित्वको आफै निर्माण गरेकी ।संघर्षको अर्को नाम।साहसको अर्को नाम।अझ अरु पनि हुन् फुलनदेवी ……।।

१० अगस्ट १९६२मा भारतको उत्तर प्रदेशमा जन्म लिनुभएकी फुलनदेवी थोरै बाँचिन् तर सबै कुरा भोगेर बाँचिन् ।दश बर्षकै कलिलो उमेरमा आफ्नो काकाले जमिन हडपेको विषयमा भाइलाई इँट्टा प्रहार गरिन्।एघार बर्षकै उमेरमा पैतिस बर्षका बुद्धिलाल मल्लाहसंग बिबाह गरिन्।श्रीमान्को एक किसिमको हेपाहा प्रवृत्तिका बिरुद्ध माईत जानू आफैंमा बिद्रोह थियोे उनको ।माईतीको टोकसो पछि घर फर्कदा उनका पतिले दोस्रो बिबाह गरिसकेको देख्दा त्यो बाल मष्तिस्कले के सोच्यो होला? अझ पति र सौताले छरछिमेकका सामु गरेको गाली गलौज,पिटाइ र दुर्व्यवहार …?त्यस पछि उनको बाल मनोविज्ञान बरालिन पुग्छ।तर पापी पुरुषहरुका गिद्धे नजरले पटकपटक उनको शरिरलाई टोक्न छाड्दैन।गाउँका जमिनदार,ठाकुर देखि प्रहरी जवानहरु सम्मको यौन पिपासु छाँया फुलनदेवी माथि पर्छ।कसैले कल्पना सम्म पनि गर्न सक्दैन होला सायद यस्ता पलहरुको …!!

भारतको उत्तर प्रदेश र मध्य प्रदेशको बोर्डर इलाकामा क्रियाशील केही डाकुहरुको समुहमा फुलनदेवीको प्रवेश हुन्छ।त्यहाँ पनि ठाकुर,बिक्रम मल्लाह तथा बाबू गुज्जर लगायतकाको टक्कर र यौन पिपासु प्रवृत्तिको पटकपटक सिकार हुन्छिन् उनी।तर बिक्रम मल्लाहको सहयोगमा आफ्नो पति र सौताले आफू माथि गरेको दुर्ब्यवहारको बदला लिन समर्थ हुन्छिन् ।डाकुहरुको एक जना नाइके बाबू गुज्जरको हत्या हुन्छ । श्रीराम तथा लाला ठाकुरले हत्याको अभियोग फुलनदेवी माथि लगाउँछन् ।ठाकुरको ग्याङले फुलनलाई खोजी खोजी गाउँमा लगेर लगातार तीन हप्ता सम्म ग्याङ रेप गर्छन्।फुलनदेवीको आत्मकथामा कुसुम नामकी महिलाले ठाकुरलाई सघाएको र आफ्नो कपडा पनि उनलेे नै फुकालिदिएको बताएकी छिन्।यसबाट फुलनदेवी अत्यन्तै बिक्षिप्त हुन्छिन् (यतिखेर उमेर अठार बर्ष मात्र रहेको बुझिएको छ)।एउटी किशोरी माथिको सामुहिक बलात्कार ..!!त्यो पनि गाउँ समाजको माझमा….!!पुरुषवादी समाजको यति क्रुर रुप..?डरलाग्दो स्वरुप…??

सन् १९८१मा फुलनदेवीको नयाँ अवतार देखिन्छ ।ठाकुरहरुको गाउँमा हातहतियारसहित उनी रौद्र रुपमा प्रस्तुत हुन्छिन् ।बाईस जना राजपुत ठाकुरहरुलाई लाईनमा राखेर गोली ठोकेर मार्छिन्।आफू माथि भएको सामुहिक बलात्कारको बदला कठोरता पुर्वक लिन्छिन्।यही घटनाले पुरै भारत गरमागरम हुन्छ ।भारतीय मिडियाले फुलनदेवीलाई अर्को नाम दिन्छ-Bandit Queen ।कोमलताको प्रतीक भनिएको नारीको रौद्र रुप।एउटा बिचित्रको रुप।जो आम मानिसको कल्पना भन्दा बाहिरको कुरा थियोे ।कतिले त्यसपछि चम्बलकी डाकु भन्न थाले ।अथवा समाज डराउन थाल्यो फुलनदेवीसंग।

फुलनदेवी माथि २२हत्या ,३०डकैती तथा १८अपहरणको अभियोग दर्ज थियोे प्रहरी प्रशासनमा।एसएसपी राजेन्द्र चतुर्वेदी निरन्तर उनीसँग फलोअपमा थिए।र अन्त्यमा मध्य प्रदेशको तत्कालीन मुख्य मन्त्री अर्जुन सिंह समक्ष आत्मसमर्पणको मेसो मिल्यो ।अदालतले एघार बर्षको कैद सजाय सुनायो।तर सन् १९९३मा मुलायम सिंहको सरकारले सजाय मिनाहा गरिदियो ।सन् १९९४मा कैदमुक्त भएर उमेश सिंहसँग बैबाहिक सम्बन्ध गाँसिन्।जब दीक्षा भुमिमा बुद्ध धर्मबाट दिक्षित भइन् तब फुलनदेवीको नयाँ मार्ग सुरु भयो ।सन् १९९६मा समाजवादी पार्टीबाट चुनाब लडेर मिर्जापुरकी सांसद भइन्।सन्१९९८मा चुनाब हारेपनि सन् १९९९ मा फेरि जितिन्।यतिखेर सम्म आइपुग्दा एउटै मात्र शब्द आइरहन्छ -वाह!वाह!!वाह!!!

तर समय र जीवन सोचेझैं कहाँ हुँदो रहेछ र? सन् २००१मा शेर सिंह राणाको ग‍ोलीको प्रहार फुलनदेवीले थेग्न सकिनन्।उनको टाउकोमा लागेको दुई गोली र शरिरमा लागेको तीन गोलीले उनको जीवनको इहलिला समाप्त गरिदियो ।यी तिनै शेर सिंह राणा थिए जस्ले अन्तिम हिन्दु राजा पृथ्वीराज चौहानको अस्तु ल्याएका थिए।यी तिनै शेर सिंह राणा हुन् जो ठाकुरको गाउँको बाईस राजपुत हत्याको बिरोधि थिए।अदालतले राणालाई जन्मकैदको सजाय त सुनायो तर सन् २००४ मा भारतको सर्बाधिक सुरक्षित भनिएको तिहाड जेलबाट फरार भए।सन् २००६ मा कोलकाताबाट राणालाई प्रहरीले पुनः समात्यो।शेर सिंह राणाकै कथामा End Of Bandit Queen फिल्म पनि बनेको छ।तर माला सेनले लेख्नु भएको India’s Bandit Queen (The true story of phoolen devi) लाई सन् १९९४ मा शेखर कपुरले रियललाई रिलको रुप दिए पछि मात्र खास चर्चा पायो ।यही साल Bandit Queen ले बेस्ट फिचर फिल्ममा नेशनल अवार्ड र फिल्म फेयरमा क्रिटिक्स अवार्ड समेत प्राप्त गर्यो।

फुलनदेवीको संघर्ष र बहादुरीको कथा सुन्दा, हेर्दा र पढ्दा महान् कथाकारको उत्कृष्ट कथा जस्तो लाग्छ ।महान् नाटककारको बिश्व प्रसिद्ध नाटक मञ्चन भए जस्तो लाग्छ।धेरैलाई हबिगत भनेर पत्याउन गाह्रो पर्छ।धेरैको बोली अवाक् हुन्छ ।आँखा बन्द हुन गाह्रो मान्छ ।कान तातेर सेलाउन मान्दैन।दिमाग ठिक ठाउँमा बस्दैन।मन अस्थिर हुन्छ।तर फुलनदेवीले बाँचेर देखाइन्।भोगेर देखाइन्।लडेर देखाइन्।बढेर पनि देखाइन्।यस्ती महान् वीराङ्गना प्रति ग्रान्ड सलुट!ग्रान्ड सलुट!
!ग्रान्ड सलुट!!!

( लेखक रघु परियार नेपाली जनता दलको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । )


सम्बन्धित खवर

अन्तर्वार्ता