
काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । बिहीबार पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएसँगै उनी आज रिहा हुन लागेका हुन् । सन्दीप आज २० लाख रुपैयाँ धरौटी बुझएर रिहा हुन लागेका हुन् ।
बिहीबार सन्दीपले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै आदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा सन्दीपविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सन्दीपका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए ।
सन्दीपमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौं अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । सन्दीपले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् ।
प्रहरीले गत असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो । सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान रोक लगाएको छ । त्यसका लागि उनको पासपोर्ट रोक्का गर्न अदालतले आदेश दिएको छ ।
यस्तै, सन्दीपले आफूमाथिको मुद्दामा सामाजिक सञ्जाल, मिडियामा अभिव्यक्ति दिन पनि नपाउने आदेश अदालतले गरेको छ । अदालते उपत्यका बाहिर जानु परेपनि अनुमति लिनुपर्ने अदालतले जनाएको छ ।