काठमाडौं । उपनिर्वाचन नेपाली जनताको पछिल्लो मनोविज्ञान र मनस्थिति बुझ्न काफी प्रष्ट चित्र हो । अझै पनि पुराना पार्टीलाई आउँदो निर्वाचनसम्म सुध्रने समय छ । मंसिरको निर्वाचनबाट पुराना पार्टीलाई सन्देशमूलक झट्का मिलेकै थियो । ६ महिनाअघिमात्रै स्थापित दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा उल्लेखनीय उपस्थिति जनायो । पुराना पार्टीले गढ भनेका निर्वाचन क्षेत्र गुमाउनु उनीहरूले पाठ लिनका लागि काफी थियो । मधेसमा जनमत र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदय नै ठूला र पुराना पार्टीलाई सन्देश थियो कि– जनता परिवर्तन चाहन्छन् । तै त्यो चुनावपछि पनि ती पुराना पार्टी सुध्रिएनन् । फेरि सत्ताको फोहोरी खेलमा गठबन्धन दुई महिनामै भत्काउने र बनाउने गर्न थाले । त्यसैको परिणाम यसपालि वैशाख १० को उपनिर्वाचनले झन् फेरि सन्देश दिएको छ—जनतालाई पुराना पार्टीले गर्दै आएको शासनशैली पटक्कै चित्त बुझेको छैन ।
त्यसो हुँदैनथ्यो भने २०४८ सालदेखि एकपटकबाहेक सधैं कांग्रेसका तर्फबाट रामचन्द्र पौडेलले जितिरहेको तनहुँ १ मा नयाँ पार्टी रास्वपाले बाजी मार्दैनथ्यो । जनतामा भिजेका कांग्रेसी उम्मेदवार गोविन्द भट्टराईलाई समेत पराजित गरेर तनहुँका जनताले पाहुना मानिएका रास्वपाका स्वर्णिमलाई ठूलो मतान्तरले जिताइदिए र भने– हामीलाई उम्मेदवारमात्रै उसको पार्टी भरोसायोग्य चाहिन्छ । चितवनमा रवि लामिछानेलाई पहिलाभन्दा झन् बढी मत प्राप्त हुनु भनेको जनता नयाँलाई नै मौका दिएर एकपटक हेर्न चाहन्छन् । पुराना र सत्तामा पटकपटक परीक्षित पार्टीलाई उनीहरूले कत्ति विश्वास गरेनन्। सत्ता गठबन्धनमात्रै होइन प्रतिपक्ष एमालेको समेत मत जोडिएका भए पनि रास्वपा सभापतिलाई हराउन नसक्ने प्रष्ट मत प्राप्त हुनुको अन्तर्य पुराना सबैजसो दलमाथि जनताको भरोसा उडिसकेको भन्ने नै हो । कांग्रेस, एमालेले ३०औं वर्षदेखि र माओवादीले १५ वर्षदेखि शासन सत्तामा रहेर आमजनताका दुःख कहिल्यै देखेनन् भन्ने जनतामा छाप परेको भएको बुझ्न यो निर्वाचन परिणाम काफी छ ।
रास्वपालाई प्राप्त मत गाली, आवेग र आक्रोश अनि पुरानाप्रतिको वितृष्णामात्रै हो भनेर जसरी एकथरीलाई मंसिरको निर्वाचन परिणामपछि लागेको थियो । उपनिर्वाचन परिणामले भने जनताले आवेग प्रकट गरेका होइनन्, पुराना दलप्रति भरोसा टुटेको र नयाँमा आशा जागेको पुष्टि गरेको छ । मंसिरको निर्वाचन हारेर पनि फेरि बारा २ मा चुनाव जित्न पुगेका संघीय समाजवादी पार्टीका उपेन्द्र यादवले भने चुनाव जित्नुको अर्थ अरू नै कोणबाट केलाउन सकिन्छ । त्यहाँ पनि मधेसमै उदीयमान जनमत पार्टीले कडा टक्कर उपेन्द्रलाई दिएकै हो । विकल्प खोज्ने प्रयत्न त्यहाँ पनि जनताले गरेकै हुन् । उपनिर्वाचन नेपाली जनताको पछिल्लो मनोविज्ञान र मनस्थिति बुझ्न काफी प्रष्ट चित्र हो। अझै पनि पुराना पार्टीलाई आउँदो निर्वाचनसम्म सुध्रने समय छ । र, नवोदित पार्टीलाई चाहिँ जनताको आशा टुट्न नदिने, अझै जनप्रिय हुने र संसद्मा जनताका मुद्दा खरो रूपमा उठाउँदै सत्तालाई जनता केन्द्रित बनाउन भूमिका खेल्नुपर्नै चुनौती छ ।
नयाँ पार्टीले नि यत्तिमै आफूलाई अब्बल ठानेर पुरानै दलको सिको ग¥यो भने अर्को चुनावमा यसै भन्न चाहिँ सकिन्न । अर्को पाटो तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी हुँदा नेपाली कांग्रेसका गोविन्द भट्टराई दोस्रो स्थानमा रहे । नेपाली कांग्रेस पृष्ठभूमिका स्वर्णिम उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनमात्र कांग्रेस छाडेर रास्वपामा गएका थिए । तर उनले पाएको मत भने कांग्रेसको थिएन । जितको आधार वामपन्थी मत नै हो । कांग्रेसका मतदाताहरूले गोविन्दलाई माया नै गरे । गोविन्दले स्थानीय स्तरमा गरेको कामको मूल्याङ्कन गर्दै कांग्रेसका अधिकांश मतदाताले आफ्नो मत भट्टराईलाई नै दिएका हुन् । भट्टराईले खानेपानीमा गरेको कामको मुल्याङ्कन गर्दै मत पाएका हुन् । यसपालि उनलाई मत दिन नसक्ने भन्दै स्वर्णिमलाई मत दिनेहरूले पनि गोविन्द राम्रो मान्छे रहेको तर यसपालि मत परिवर्तन गर्ने बताएका थिए ।
गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल (हालका राष्ट्रपति) २५ हजार ३६१ मतसहित विजयी भएका थिए । नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । त्यसैगरी स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । तर बैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिमले ३४ हजार ९१९ मत प्राप्त गर्दा कांग्रेसका गोविन्दले २० हजार १२२ मत प्राप्त गरे । त्यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत मात्र प्राप्त गर्न सके । अन्य साना दलहरुले पाएको मत भनेको जम्मा ६०६ मात्रै हो । यसरी दुई निर्वाचनमा हेर्दा एमालेले करिब ११ हजार ४९३ सय मत गुमाएको हो । त्यसैगरी कांग्रेसले करिब ५ हजार २३९ मत गुमाएको छ । दुवै निर्वाचनमा कांग्रेसलाई गठबन्धनको साथ रहे पनि उपनिर्वाचनमा गठबन्धनमा रहेका अरु दलहरुका मतदाताले कांग्रेसलाई मतदान गरेनन् । त्यही मत कांग्रेसले पाएन । विशेषगरी नेकपा माओवादी केन्द्रका मतदाताहरूले कांग्रेसलाई मत नदिएको कांग्रेसको बुझाइ रहेको छ । यसरी हेर्दा कांग्रेसले आफ्नो मत नगुमाए पनि उक्त मत जितका लागि पर्याप्त रहेन । कांग्रेस पृष्ठभूमिका स्वर्णिमले कांग्रेसको धेरै मत काट्ने पूर्वानुमान गरिएको भए पनि उनले विशेषगरी एमालेको मत आफूतिर तानेका छन् ।
माओवादीको मत पनि उनलाई नै गएको छ । स्थानीय निर्वाचन २०७९ मा तनहुँ क्षेत्र नं १ मा पर्ने पालिकाहरूका वडाध्यक्षहरूले पाएको मतलाई हेर्दा पनि एमालेले धेरै मत गुमाएको पाइएको छ । कांग्रेसले उक्त क्षेत्रमा रहेका वडाध्यक्षहरूले पाएको कूल मत ३३ हजार १०६ रहेको छ भने एमालेले २२ हजार २ सय १० मत प्राप्त गरेको थियो । त्यसैगरी माओवादीले ८ हजार ४ सय ७४ मत प्राप्त गरेको थियो । तनहुँ १ मा देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका , भानु नगरपालिका र ब्यास नगरपालिकाका १–४ र ७–११ वडाहरू पर्छन् । यसमा आँबुखैरनी प्रमुखमा माओवादी केन्द्रले जितेको हो भने बन्दिपुर एमालेले जितेको हो । देवघाट गाउँपालिका, ब्यास र भानु नगरपालिका प्रमुख कांग्रेसले जितेको हो । यसरी कांग्रेसले आफ्नो मत नगुमाएको भए पनि सत्ता गठबन्धनका दलहरुले दिएको धोकाका कारण गोविन्दले कम मत पाए ।
सत्ता सहयात्री अन्य दल (माओवादी, नेकपा एस, जसपा, लोसपा लगायत) का त आफ्ना उम्मेदवार नै थिएनन् । जसका कारण उनीहरुका मत औंलामा गन्नेगरी मात्रै गोविन्दलाई आएको हुन सक्ने स्थानीय कांग्रेस नेताहरुको अनुमान छ । तर एमालेले नै आफ्ना उम्मेदवारलाई भोट नदिएर आधा बढी मत मत स्वर्णिमलाई दिएसँगै स्वर्णिमको जितको आधार बन्यो । त्यसैगरी पहिलेदेखि नै रामचन्द्र पौडेलसँगको आन्तरिक द्वन्द्वका कारण कांग्रेसबाट कारबाहीमा परेका गोविन्दराज जोशीका ६ हजार ८८६ मत (उनले मंसिर ४ को निर्वाचनमा ल्याएको मत) पनि स्वर्णिमलाई नै गए । जोशी समूहबाट कोही पनि चुनावमा खडा नभएको, कांग्रेसले जोशीको कारबाही हटाएको घोषणा गरेको भए पनि प्रक्रिया बिना नै आफूसँग छलफल नै नगरी हचुवामा कारबाही हटाउनुको तुक नभएको तर्क गर्दै स्वर्णिमलाई नै सघाउँदा स्वर्मिणलाई फाइदा भयो । जोशीका छोरा दीपकराज जोशी र रास्वपा सभापति रवि लामिछानेबीचको छलफलपछि स्वर्णिमलाई मत दिने निर्णय भएको थियो । तनहुँ १ बाट उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनी ३४ हजार नौ सय १९ मतसहित निर्वाचित भएका हुन्।
वाग्लेले जित्दा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मतसहित दोस्रो भए । सापेक्षिक रुपमा नेकपा एमाले मंसिर ४ को निर्वाचनमा भन्दा निकै कमजोर देखियो । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत मात्र पाए । मत परिणामको आँकलन गर्दा कांग्रेसका उम्मेदवार भट्टराईले पार्टीको मत जोगाएका छन् । खनाललाई भने एमालेले नै मत नहालेको देखिन्छ । मंसिर ४ को निर्वाचनको तुलनामा आधाभन्दा पनि कम मत पाउनुले यही अवस्था दर्शाउँछ । गत निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार नौ सय ८१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए । समानुपातिकतर्फ एमालेले १६ हजार ६ सय ८३ मत ल्याएको थियो । अहिले भने यो मत ह्वात्तै घटेर आधामा सिमित भएको छ । एमालेका ति आधा मत वाग्लेतिर सरेको परिणामबाट देखिन्छ । एमालेले देवघाट गाउँपालिकाको एउटा वडाबाहेक कहीँ पनि आफ्नो भोट जोगाउन सकेको छैैन ।
यता, कांग्रेसले भने हार्दा पनि आफ्नो भोट सुरक्षित राख्न सकेको देखिन्छ । गत मंसिर ४ को निर्वाचनमा हाल राष्ट्रपति रहेका रामचन्द्र पौडेल विजयी हुँदा २५ हजार हाराहारी मत ल्याएका थिए । तर समानुपातिकमा भने कांग्रेसले २० हजार १ सय ५८ मत पाएको थियो । त्यो बेलाको समानुपातिक मत जति यसपल्टको चुनावमा पनि कांग्रेसले पाएको छ । तनहुँ १ मा एमाले मात्र नभइ माओवादी केन्द्रले जितेका अधिकांश वडामा रास्वपालाई मत गएको छ । आफ्ना मत सुरक्षित राखे पनि कांग्रेस उम्मेदवार भट्टराईको हारले कांग्रेसको एक सिट घटेको छ । सबैभन्दा ठूलो धक्का एमालेले व्यहोरेको छ । राप्रपाले त जमानत समेत जोगाउन सकेन । यसकारण पुरानो ऐतिहासिक पार्टी कांग्रेसले परम्परावादी चिन्तनमा बदलाव ल्याउनुपर्ने जरुरत छ । यथास्थितिभन्दा माथि उठ्न नसके निर्वाचनमा वितृष्णा भाव प्रस्फुटन हुनेछ । यसकारण आफूलाई बदल्न कांग्रेस तयार हुनुपर्नेछ। पुरानो पुस्ता मात्र होइन, युवा पुस्ता पनि सच्चिएर आउनैपर्दछ ।
उपनिर्वाचनको मतपरिणाम कांग्रेसका लागि अनपेक्षित बनेको छ । तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई धक्का दिएको छ । आम निर्वाचनको मुखमा खुलेको नयाँ पार्टीले जित निकाल्दै भोलीका लागि चुनौती खडा गरेको छ । यी दुवै निर्वाचन क्षेत्र कांग्रेसका लागि ऐतिहासिक वर्चस्व रहेका ठाउँ हुन् । चितवनमा त झनै ठुलो क्षति बेहोर्नुपरेको स्थिति छ । सिंगो सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदा पनि हार बेहोर्नु भनेको कांग्रेसका लागि अप्रिय अवस्था नै हो । एक छिनका लागि मन बुझाउन निर्वाचन प्राविधिक पक्ष हो, एउटाले जित्ने र अरू धेरैले हार्नु स्वाभाविक प्रक्रिया भन्न सकिएला । तर तनहुँ र चितवनको अवस्थाले कांग्रेसलाई ठण्डा दिमागले सोच्नुपर्ने बनाएको छ । यद्यपि चितवन र तनहुँमा कांग्रेसका उम्मेदवारहरु तुलनात्मक रूपमा कमजोर थिएनन् । भएकामध्ये सबैभन्दा राम्रो विकल्प कांग्रेसले दिएको थियो । तनहुँको अवस्था हेर्दा कांग्रेसले मंसिर ४ को दाँजोमा आफ्ना मत सुरक्षित राख्न सफल भएको भनेर मात्र पुग्दैन । कांग्रेस एक्लैले जितिराखेको ठाउँमा सिंगो सत्ता गठबन्धन लाग्दा पनि हार भयो । स्वतन्त्र र अरु पार्टीका मतदाता आकर्षित गर्न असफल भएकै हो । यस्को फाइदा रास्वपाले उठायो ।
उपनिर्वाचन परिणामले यथास्थिति र परम्परागत ढर्रामा परिवर्तन खोजेको छनक मिल्छ । यस्लाई मतदाताको मौन विद्रोहका रुपमा बुझ्न ढिलाइ गर्नुहुँदैन । अब राणा, पञ्चायत र राजा ज्ञानेन्द्रविरुद्ध लडेको, लोकतन्त्रका लागि जेलनेल र यातना भोगेको भन्ने कुराले मात्र नागरिकको मन जित्न सकिँदैन । उपनिर्वाचनसम्म आइपुग्दा यि कुनै पनि घटनाक्रमलाई नदेखेका र नभोगेका नयाँ पुस्ताको मतमा बाहुल्य छ । तत्काल को कति योग्य र लोकप्रिय छ भन्ने कुराले अर्थ राख्दछ । ऐतिहासिक विरासतले मात्र अब धान्दैन । नयाँ पुस्ताले आफनो अनुहार उम्मेदवारमा खोज्दछ । देशभित्रै र बाहिरबाट पनि युवाहरूले बलियो हस्तक्षेप देखाएका छन् । यो तथ्यलाई हेक्का राख्दै गंभिर समिक्षा नभए अहिले भन्दा झन् दुरुह अबस्था पनि आउन सक्छ । यसरी उपनिर्वाचनको परिणामलाई भावी राजनीतिमा युवा पुस्ताको खोजीका रुपमा बुझ्नु आवश्यक छ । अर्को राजनीति सत्तामुखी नभएर, परिवर्तनमुखी हुनुपर्छ भन्ने सन्देश पनि हो। नागरिकले अहिलेको उकुशमुकुश र विरक्तिबाट मुक्ति खोजेका छन् ।
जीवनस्तरमा सुधार चाहेका छन् । नयाँ पुस्ताले ठूलो विद्रोह वा क्रान्ति केही खोजेको होइन, अहिलकै लोकतान्त्रिक प्रणालीभित्र नयाँपनको आभाष मात्र चाहेको हो । मतदाताले विगतमा सबै पार्टीका युवालाई उल्लेख्य संख्यामा जिताएर पठाउनुले पनि यही कुराको म्यासेज दिन्छ । सचेत मतदाता सुधारात्मक बाटोमा हिंड्न खोजेका छन् । अब कांग्रेस मात्र होइन, जुनसुनै पनि दलको कार्यसम्पादन र एजेण्डाभन्दा पनि उम्मेदवारको अनुहार महत्वपूर्णवाला छ । फेरिएका मतदाताले सशक्त हस्तक्षेप गर्दैछन् । यसकारण पुरानो ऐतिहासिक पार्टी कांग्रेसले परम्परावादी चिन्तनमा बदलाव ल्याउनुपर्ने जरुरत छ । यथास्थितिभन्दा माथि उठ्न नसके निर्वाचनमा वितृष्णा भाव प्रस्फुटन हुनेछ । यसकारण आफूलाई बदल्न कांग्रेस तयार हुनुपर्नेछ। पुरानो पुस्ता मात्र होइन, युवा पुस्ता पनि सच्चिएर आउनैपर्दछ ।
मिठा चकलेटी कुराले मात्र चल्ने अवस्था अब रहेन । विग्रेको कुरा जति सबै नेतृत्वको टाउकोमा हालेर मात्र पार पाईंदैन । समाधान सहितको विकल्प दिन सक्नुपर्छ । यस्का लागि पहिले त सबैमा त्याग र उदार मनको खाँचो छ । होइन, नबदलिने हो भने मतदाताले मत बदल्नेछन् । सम्हालिएर अघि बढ्न उपनिर्वाचनलाई राम्रो शिक्षाका रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । उदात्त छातीका साथ बदलिन तयार हुनुपर्दछ । उपनिर्वाचनले कांग्रेस मात्र होइन, परम्परावादी सबै पार्टीलाई सम्हालिएर अघि बढ्न यसै पनि दबाब परेको छ । निर्वाचनमा उम्मेदवारका लागि टिकट दलले दिने भए पनि मत त नागरिकबाटै लिनुपर्छ । अबका आम मतदाताले कुनै खास पार्टी पार्टी वा नेतालाई नचिन्ने अवस्था आउँदैछ । उम्मेदवार मन परे मत दिन्छन्, नत्र दिँदैनन् । पार्टीबाट लादिएको जस्तो पनि उम्मेदवारले नागरिकको मन जित्न सक्दैन । विज्ञता र भिजनसहितको उम्मेदवार चुनावी मैदानमा उतार्नुपर्नेछ ।
उपनिर्वाचनको सन्देशलाई घोत्लिएर अहिल्यै मनन गर्न ढिलाइ भएमा भोलि पछुतो मात्र हात लाग्ने निश्चित छ । जनताले के चाहन्छन् ? के मागिरहेका छन् ? किन परिस्थितिमा बदलाब आइरहेको छ ? भनेर समयको स्पन्दनलाई सुन्न सकिएन भने मतदाताले सजाय दिनेछन् । विकल्प भएर अरुले ठाउँ लिनेछन् । रास्वपा वा अर्को कुनै दल वैकल्पिक शक्तिका रूपमा आउँदा सबै भन्दा क्षति ठूलो दल कांग्रेसलाई नै हुनेछ । अर्को कुरा गठबन्धनमा भागबन्डा मिलाउने नाममा क्षमतावान् र आसलाग्दा व्यक्ति पाखा परेको अवाज पनि जनस्तरमा उठेको छ । यसैले पनि मतदाताले रास्वपाका उम्मेदरवारलाई विकल्पका रुपमा हेरे । तनहुँ र चितवन मात्र होइन, ठूला शहर काठमाडौँ र ललितपुरले पनि यही अवस्थाको संकेत गर्दछ । अहिले रास्वपाको जित सबैतिरको असन्तुष्टिको संग्रह नै हो । प्रश्न ‘ब्रान्ड’ जोगाइराख्न बुढादेखि युवा नेतासम्म सुधारको मार्गमा जाने कि नजाने भन्ने हो । कार्यशैलीमा सुधार ल्याउन उपनिर्वाचन राम्रो अवसर बन्न सक्छ ।