काठमाडौं । १६औँ एसिया कप क्रिकेट प्रतियोगिता आज बुधबारबाट पाकिस्तानमा सुरु हुँदैछ । पाकिस्तानको मुल्तानमा हुने उद्घाटन खेलमा नेपाल र आयोजक पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । यस वर्ष एसिया कप ५० ओभरको हुनेछ ।
उपाधि दाबेदार पाकिस्तान नेपालमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ भने नेपाल पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ ।
दुई पटक एसिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर शाहीन शाह अफ्रिदी र विकेटकिपर मोहम्मद रिजवान लगायत छन् । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रने छ । नेपाली टिममा ब्याट्सम्यान आसिफ शेख, चर्चित लेग स्पिनर सन्दीप लामिछाने लगायतका खेलाडी छन् ।
प्रतियोगितमा ६ देशले प्रतिस्पर्धा गर्नेछन् । एक दिवसीय वरियतामा १५औँ स्थानमा रहेको नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान रहेको छ भने समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । नेपालको दोस्रो खेल भारतसँग हुनेछ । नेपाल र भारतबीचको खेल भने भदौ १८ गते श्रीलंकामा हुनेछ ।
नेपालको सम्भावित प्लेइङ ११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
पाकिस्तानको प्लेइङ ११
बाबर आजम (कप्तान), फखर जमान, मोहम्मद रिजवान (विकेटकिपर), इमाम उल हक, सलमान अली अघा, इफ्तिखर अहमेद, मोहम्मद नवाज, नसिम साह, शाहीन शाह अफ्रिदी, हरिस रउफ