
बसन्त परियार
प्रविधि प्रयोगकर्ताहरूलाई हेर्ने हो भने व्यक्तिको चरित्र हत्या गर्ने, परिवार, सामाज र सिंगो राष्ट्र र राष्ट्रियता प्रतिकुलका अमर्यादित र अमानवीय जस्ता कार्यमा लागेको पाइन्छ । अर्को सकारात्मक पक्ष त्यही प्रविधि हो जसको प्रयोगले मानिसले परिवार बनाउँछ, समाज बनाउँछ र फलस्वरूप सिंगो राष्ट्र बन्छ र राष्ट्रियता जोगाउँछ । उदाहरणका रूपमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) लाई लिन सकिन्छ । रास्वपाका सभापति रवि लामिछानेहरु पनि यसकै फल हुन् ।
काठमाडौं । हरेक मान्छेहरूको दिमाग स्वतन्त्र हुन्छ । सभ्य समाज बनाउने भनेर स्वतन्त्रतालाई रोक्नका लागि बनाइएका नियम/कानून केबल मानव निर्मित हुन्छन्, जसको आफ्नै नियत असभ्य हुन पनि सक्छ । तर, हाम्रो स्वतन्त्र दिमागको सिर्जना मानव निर्मित हुन सक्दैन । स्वतन्त्र दिमागहरूबाट हिटलरहरू पनि जन्मिन सक्छन्, गान्धीहरू पनि जन्मिन सक्छन् । स्वतन्त्र दिमागबाट युट्युब जन्मिन सक्छन्, एटम बम पनि जन्मिन सक्छन् । हरेक स्वतन्त्रताभित्र थुप्रै नकारात्मकताहरू छन् । तर, नकारात्मकता भित्रको स्वतन्त्रताले नै मानव जगतलाई नेतृत्व दिएको छ । जस्तो कि प्रधानमन्त्री प्रचण्डले कुनै जमानामा आतंककारीको पगरी गुथेका थिए । सभ्य समाज एउटा हो, मान्छेहरूको सभ्यताको विकास हुने चरण अर्को हो । मान्छेका सिर्जनालाई छाडा छोड्नुपर्छ । छाडातन्त्रको आफ्नै मानक हुन्छ । कुनै जमानामा जुल्फी पाल्ने केटाहरू छाडा थिए, त्यसपछि जिन्सको पाइन्ट लगाउनेहरू छाडा भए । आज टिकटक चलाउनेहरू छाडा भएका थिए, छन् ।
स्वतन्त्रताको प्रतीक छाडा हैन, तर हरेक सिर्जनशील मान्छेहरू छाडा हुन्छन् । हाम्रो भूमिमा पनि सेक्सपियर, माइकल ज्याक्सन र बब मार्लीहरू जन्मिन सक्छन् । फेसबूक, ट्विटरतिर हेर्दा केही मिडियाकर्मीहरूले पनि टिकटकमाथि लगाइएको प्रतिबन्धलाई लिएर सभ्य समाजको दुहाइ दिन भ्याएका रहेछन् । आफूहरू लगातार २० वर्ष टेलिभिजनमा बोल्दा पनि माखो नमरेको तर एउटा दुर्गम भेगको सामान्य गरिब मान्छेले १० हजारको मोबाइलले बनाएको दुई मिनेटको भिडियो संसारभरि प्रख्यात भएकोमा यिनीहरू पहिल्यैदेखि रिसाएका थिए । एकथरी मानिसहरू आफू सफल हुन नसकेपछि अरू सफल भएकोमा रिसाउँछन् । टेलिभिजन स्क्रिनमा आउनुभन्दा अगाडि नै टिकटकको स्क्रिनमा आइपुग्ने भिडियोहरूले मिडियाको ’ब्रेकिङ न्युज’मा धक्का लागेकै थियो ।
एउटा चलचित्र बनाउनका लागि २ करोड लाग्छ । एउटा एचडी टेलिभिजन खोल्नका लागि ३ करोड लाग्छ । एउटा म्युजिक भिडियो बनाउनका लागि १० लाख लाग्छ, तर एउटा टिकटक भिडियो बनाउन ५ मिनेटबाहेक अरू केही पनि लाग्दैन। यो ५ मिनेटभित्रमा एउटा कुना कन्दराको सामान्य मान्छेले संसारको ध्यान खिच्न सक्छ । रोग निको पार्ने औषधिको पनि साइड इफेक्ट हुन्छ । तर, साइड इफेक्ट हुँदैमा औषधि नै नखाने भन्ने हुँदैन । आगोले खाना पकाउँछ, घर पनि जलाउँछ । कति बेला के गर्ने भन्ने कुरा प्रयोगकर्ताहरूमा भर पर्छ । टिकटकका पनि थुप्रै साइड इफेक्टहरू छन् । तर, साइड इफेक्टभन्दा धेरै सकारात्मक सिर्जनाहरू छन् ।
हामीले कुहिएको केरा झिकेर फाल्ने हो, केराको बोट फेदैदेखि रेट्नु हुँदैन । नियन्त्रण गर्न नसके तीव्र गतिको गाडी दुर्घटना हुन्छ, तर दुर्घटना भयो भन्दैमा सडक कहिल्यै बन्द हुँदैन । इन्टरनेटमा हुने अश्लीलता रोक्ने काम अर्बौंको बजेट खर्च गरेर स्थापना गरिएको साइबर ब्यूरोको हो । नेपालको साइबर ब्यूरोले टिकटकरलाई कारबाही गर्न सक्दैन भने भोलि ’प्रोक्सी वार’ कसरी लड्न सक्छ ? टिकटकमा अश्लील हर्कत गर्नेहरूलाई जेलमा सडाउन टिकटकका सीईओ ’शाउ जी च्यू’लाई सोध्नै पर्दैन । जहाँसम्म टिकटकले नेपाल सरकारको आग्रह नमानेको विषय छ, त्यो त टिकटकले कुनै पनि देशको सरकारको आग्रहमा उसको प्रयोगकर्ताहरूको भिडियो डिलिट गर्न मान्दैन । जुन गर्नुपर्ने छ, त्यो गर्न टिकटकले कसैलाई सोध्दैन ।
स्मरण रहोस्, केही महिनाअगाडि अमेरिकी संसद्मा रिपब्लिक र डेमोक्रेट दुवै दलका सांसदहरूले टिकटकमा सीईओ शाउ जी च्यूलाई चार घण्टासम्म र्याखर्याख्ती पारेका थिए । तिनीहरूले टिकटक चिनियाँ कम्युनिस्ट पार्टीको जासुसी गर्ने यन्त्र भएको र आफ्नो देशलाई ठीक नलागेको भिडियो हटाउनुपर्ने माग राखेका थिए । तर निकै निडर र प्रस्ट वक्ता टिकटकका सीईओले त्यो कुरा मानेनन् । शाउ जी च्यूले जवाफ फर्काएका थिए, हामी विश्वव्यापी अन्तरसञ्चालनमा निर्भर छौं, डाटामा चिनियाँ इञ्जिनियरहरूको पहुँच छ । हामीले हाम्रा प्रयोगकर्ताको डाटा सुरक्षामा कसैसँग सम्झौता गर्दैनौं, बरु हाम्रो डाटा सुरक्षाभन्दा अमेरिकी सरकारको डाटा सुरक्षा कमजोर छ ।
हामी कुनै राज्यको दबाबमा हाम्रा प्रयोगकर्ताहरूको भिडियो डिलिट गर्दैनौं, तर यदि कुनै देशमा हाम्रो एप्समा राखिएका भिडियोका आशय प्रतिबन्धित छन् भने त्यो देशको साइबर सेक्यूरिटीले जान्ने कुरा हो, शाउ जी च्यूले भनेका थिए । युक्रेन-रसिया तथा इजरायल-प्यालेस्टाइन युद्धमा पनि ती देशहरूमा टिकटक प्रतिबन्ध गर्ने प्रयास नगरिएको हैन, तर टिकटकले मानेन । बरु टिकटकले भन्यो, जनताले यो युद्धलाई कसरी बुझेका छन् त्यो भन्न पाउनुपर्छ । जनताको अभिव्यक्ति स्वतन्त्रताप्रति हामी सचेत छौं । हामी कसैको प्रभावमा टिकटक बन्द गर्दैनौं । हुन पनि बीबीसी, सीएनएन, अल्जजिराजस्ता मिडियाले लुकाएको भिडियो टिकटकले देखाइरहेको छ ।
बाँदरको हातमा नरिवल भन्ने उखान केही नेपालीहरूको प्रवृतिसँग मिल्छ । र, त्यस्ता मान्छेहरू टिकटकमा मात्रै हैन, युट्युब, फेसबूक, ट्विटर, इन्स्टाग्राम जताजतै छन् । तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । थोरै मानिसले टिकटकलाई फोहोर गरे पनि धेरै मानिसहरूले टिकटकलाई सफा गरिरहेका छन् । आफू कहिल्यै पुग्न नसकेका दुर्गम गाउँका भिडियो टिकटकमा हेर्न/देख्न पाइएको छ । सुन्दर मान्छेहरू, सुन्दर बस्तीहरू, सुन्दर प्रकृति देख्न पाइएको छ । नाति र हजुरआमाको टिकटकमा देखिएको अन्तरसंवादले हामी सबैलाई साँचो प्रेमको परिभाषा सिकाएको छ । सोलुका चौँरी गाईहरू, गोर्खाका भेडीगोठहरू सबै-सबै टिकटकमा नै देखिन्छन् ।
विदेशमा टिकटक प्रतिबन्ध छ र छैन पनि । चीनमा टिकटकको नै प्रतिलिपि अधिकारसहितको चिनियाँ भाषाको म्यगथष्ल एप्स सञ्चालित छ । तर, चीनमा कन्टेन्टहरूमाथि नियन्त्रण गरिएको छ । शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयलाई प्राथमिकता दिइन्छ । युरोपका केही देशका सरकारी कार्यालयमा टिकटक प्रतिबन्ध छ । तर देशका आम जनताहरूको माझमा प्रतिबन्ध छैन । नेपालमा पनि सैनिक, प्रहरी र कर्मचारीलाई कार्यालयमा टिकटक प्रयोग गर्न प्रतिबन्ध छ । भारतमा टिकटक प्रतिबन्ध हुनुको कारण भने भू-राजनीतिक हो । भारत र चीनको प्रतिद्वन्द्विताका कारण भारतले जे गर्छ, त्यो नेपालले गर्दैन भनेर विश्व जगतलाई देखाउनका लागि पनि हाम्रो देशमा टिकटक बन्देज हुनुहुँदैन मत छ । सामाजिक संजाल टिकटक (हाल बन्द भएको) मात्र नभई फेसबुक, इन्टाग्राम, टुईटर लगाएत सामाजिक संजाललाई समेत बन्द हैन नियमन गरिनु जरुरी छ । जसले गर्दा व्यक्तिको वाक स्वतन्त्रताको समेत कदर हुने देखिन्छ ।
अहिलेको युग प्रविधिको युग हो । व्यक्तिगत वाक स्वतन्त्रता नेपालको संविधानले दिएकै छ । प्रविधिको प्रयोग गरेर जुनसुकै व्यक्तिले उसको बौद्धिक क्षमताको विकास गर्न सक्छ । बौद्धिक क्षमता भएको मानिसले सर्वप्रथम आफू स्वयमलाई बुझ्छ । त्यसपछि क्रमशः उसले परिवार बुझ्छ, परिवारका सदस्य बुझ्छ, समाज बुझ्छ, समाजका सदस्य बुझ्छ, राष्ट्र बुझ्छ र राष्ट्रका सदस्य बुझ्छ । वर्तमान परिप्रेक्ष्यमा प्रविधिको अधिकांश प्रयोगकर्ताहरूमा माथि उल्लेखित कुराहरूको ज्ञानको परिपक्वता नभएको पाईन्छ । जसले परिवार, परिवारको सदस्य, समाज, समाजको सदस्य, राष्ट्र, राष्ट्रको सदस्य आदि कुराको बारेमा ज्ञान राख्दैन त्यस्ता व्यक्तिहरुले अहिलेको अवस्था सिर्जना गरेका हुन् ।
प्रविधिको प्रयोग गर्ने तर प्रविधिले परिवार, समाज र सिंगो राष्ट्रलाई पार्ने दूरगामी असर र प्रभावको बारेमा चेतना नहुने, प्रविधिको प्रयोग गर्ने तर कन्टेण्ट के पस्किने चेतना नहुँने, बरु लाइक्स र कमेन्टको ध्यान दिने आदि कारणले आजको अवस्था सिर्जना भएको हो । प्रविधिको विकास हुनुपू्र्व चिट्ठीपत्रको जमाना थियो । एक ठाउँबाट अर्को ठाउँमा चिट्ठीपत्र पुग्न कतै महिनौं लाग्थ्यो त कतै वर्ष पनि लाग्थ्यो । तर जति समय लागेपनि चिट्ठीपत्रप्रति मानिसको छुट्टै विश्वास थियो । एक ठाउँबाट अर्को ठाउँमा चिट्ठी पुग्दा गलत र भ्रामक सन्देश प्रवाह हुँदैन थियो । चिट्ठी आउँदा मानिसहरूले स्वयम् प्रेषक नै प्रापक समक्ष आएझैँ हुन्थ्यो ।
तर अहिले प्रविधि प्रयोगकर्ताहरूलाई हेर्ने हो भने व्यक्तिको चरित्र हत्या गर्ने, परिवार, सामाज र सिंगो राष्ट्र र राष्ट्रियता प्रतिकुलका अमर्यादित र अमानवीय जस्ता कार्यमा लागेको पाइन्छ । अर्को सकारात्मक पक्ष त्यही प्रविधि हो जसको प्रयोगले मानिसले परिवार बनाउँछ, समाज बनाउँछ र फलस्वरूप सिंगो राष्ट्र बन्छ र राष्ट्रियता जोगाउँछ । उदाहरणका रूपमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) लाई लिन सकिन्छ । रास्वपाका सभापति रवि लामिछानेहरु पनि यसकै फल हुन् ।
एक हिसाबले सरकारले सामाजिक संजाल टिकटकलाई बन्द गर्ने निणर्य गर्नु उचित नै होला । कुन अर्थमा उचित भने प्रविधि (टिकटक)को दुरुपयोग गरी परिवार बिथोल्ने, समाजमा अमर्यादित, उच्छृंखल र संवेदनाहीन कार्य गर्ने जस्ता मानवको नामका पशुतुल्य मानवका निम्ति यो नै एक उचित कडी हो । तर एक हिसाबमा सरकारको यो कार्यलाई गलत पनि भन्न सकिन्छ । किनकि जसले टिकटकको माध्यमबाट परिवार र समाजमा चेतना फैलाउँछ, परिवार, सामाज र राष्ट्र बुझेको छ, मानवीय संवेदनाहीन भएको छैन, अमर्यादित र उच्छृंखल व्यवहारबाट टाढा छ आदि गरिएका मानिसका निम्ति यो निणर्य गलत हुन जान्छ ।
सन्दर्भ सामग्रीको साथमा…