विश्वकपअघि एकाएक खस्कियो नेपालको खेल, हङकङसँग पनि पराजित


काठमाडौँ । नेपालले विश्वकप टी-२० शुरु हुन डेढ महिना पनि बाँकी नरहँदा आफ्नो लय बिगारेको छ । नेपालले ओमानमा भएको एसीसी प्रिमियर कप टी-२० क्रिकेटको सेमिफाइनल र तेस्रो स्थानका लागि भएको भिडन्तमा हार बेहोरेर एसिया कप र एसीसी इमर्जिङ टिम्स एसिया कप दुवैमा छनोट हुन असफल भएको छ ।

समूह चरणका चार वटै खेल जितेर समूह विजेता बनेको नेपाल सेमिफाइनलमा कमजोर ब्याटिङ गरेसँगै यूएईसँग पराजित भएको थियो भने तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भयो । १४० रनको चुनौती हङकङले ६ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छँदै पूरा गर्यो । ओपनर आन्शि राथले ५० बलमा अविजित रहँदै ६५ रन बनाएर टिमलाई जिताए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा अलराउन्डर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १३९ रन बनायो । ९८ रन जोड्दा ८ विकेट गुमाइसकेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले केही राहत दिलाए । उनले २९ बलमा अविजित रहँदै ४४ रन बनाए ।

त्यस्तै सन्दीप जोराले २३ बलमा २२ तथा कप्तान रोहित पौडेलले १९ बलमा २१ रन बनाए । समूह चरणमा नेपालले हङकङलाई हराएकाले तेस्रो स्थानको भिडन्तमा पनि नेपाल हावी हुने अपेक्षा गरिए विपरीत टिमले घुँडा टेक्यो । प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र यूएई आइतबार खेल्ने छन् ।

सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भयो । नेपालले कमजोर ब्याटिङ गर्र्दै ९ विकेटको क्षतिमा मात्र ११९ रन बनायो र सन्दीप जोराले ४० बलमा ५० रन बनाएको इनिङ्समा गुल्सन झाले १६ बलमा २० तथा करण केसीले १२ बलमा १७ रन बनाए ।

त्यस बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । जुनैद सिद्धिकी, बसिल हमीद र अलि नासीरले २-२ विकेट लिए । जवाफमा यूएईले १७.२ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर अलिशान शराफूले ४१ बलमा अविजित रहँदै ५५ रन बनाए ।

नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले १-१ विकेट लिए । यसअघि नेपालले यूएईलाई नै पराजित गरेर एसिया कप खेल्न पाएको थियो भने अहिले यूएईसँग हारेरै नेपाल एसिया कप खेल्नबाट वञ्चित भएको छ ।

नेपाल र यूएई एसोसिएट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुई बीचको खेललाई एसोसिएट देशको क्लासिकोसमेत भनिन्छ । नेपाल र यूएईबीच अहिलेसम्म १० टी-२० खेल भएका छन् । जसमा दुवैले समान ५ खेल जितेका छन् ।

समूह चरणमा सतप्रतिशत नतिजासहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा साउदी अरेबिया, हङकङ, कतार र मलेसियालाई पराजित गर्दै समूह विजेता बनेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो ।

७४ रनको विजयी लक्ष्य नेपालले ७.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । प्लेयर अफ द म्याच गुल्सन झाले १९ बलमा ३२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ९ बलमा १७ तथा रोहित पौडेलले ७ बलमा अविजित रहँदै १६ रन बनाए । कुशल मल्ल र आसिफ शेखले समान २-२ रन बनाउँदा कुशल भुर्तेल शून्यमै आउट भए ।

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै वर्षाका कारण खेल आठ ओभरमा मात्र झारिएको खेलमा साउदीलाई ७३ रनमा रोकेको हो । साउदीले ७ विकेटको क्षतिमा ७३ रन बनायो । अब्दुल वाहिदले १६ बलमा ३७ रन बनाएको इनिङ्समा अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

करण केसी र अविनाश बोहराले २-२ विकेट लिए । त्यस्तै ललित राजवंशी र प्रतिस जीसीले १-१ विकेट लिए । सोमबार भएको तेस्रो खेलमा नेपालले हङकङमाथि ८ विकेटको सहज जित हासिल गर्यो । जितका लागि ११५ रनको सामान्य चुनौती पाएको नेपालले १२.२ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि आसिफ शेखले १८ बलमा ४०, कुशल भुर्तेलले १९ बलमा ३२, कप्तान रोहित पौडेलले २० बलमा अविजित रहँदै २५ तथा सन्दीप जोराले अविजित रहँदै १९ रन बनाए । यसअघि खेल टस नहुँदै वर्षाले गर्दा अवरुद्ध हुँदा ढिलो शुरु भएकाले १८ ओभरमा झारिएको खेलमा हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै एक बल खेल्न बाँकी छँदै अलआउट भएर ११४ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि अविनाश बोहराले ३ तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए । करण केसीले १ विकेट लिए । दुई खेलाडी रनआउट भए । ऐरीले अन्तिम ओभर बलिङ गर्दै ५ बलमा ६ रन दिएर २ विकेट लिएका हुन् ।
यो खेलमा जित हासिल गर्दा समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपालले सेमिफाइनलमा ठाउँ बनाउन सक्नेछ । नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१० रन बनायो ।

खेलमा आसिफ शेखको संयम तथा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमणमा नेपालले उक्त योगफल बनाएको हो । ऐरीले २१ बलमा अविजित रहँदै ६४ रन बनाए । उनी एक्लैले ७ छक्का हाने । दिपेन्द्रले एकै ओभरमा ६ छक्का हानेर रेकर्ड राखे । दिपेन्द्र अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङ्गल्याण्डविरुद्ध सन् २००७ मा र वेस्ट इण्डिजका केरन पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । एक दिवसीय विश्वकपमा सन् २००७ मा दक्षिण अफ्रिकाका हर्सल गिब्सले नेदरल्यान्ड्सविरुद्ध पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यसअघि दिपेन्द्रले चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउने क्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । तर त्यो एके ओभरमा भने सम्भव भएको थिएन । कतार विरुद्धको खेलमा आसिफ शेखले ४१ बलमा ५२ तथा मल्लले १८ बलमा ३५ रन बनाए । कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाए ।

जवाफमा कतारले ९ विकेटको क्षतिमा १७८ रन बनाउन सक्यो । कप्तान मुहम्मद तन्वीरले ३३ बलमा ६३ रन बनाएको इनिङ्समा अलराउन्डर दिपेन्द्रसँगै ललित राजवंशी र गुल्सन झाले समान २-२ विकेट लिए । कुशल र अविनाश बोहराले १-१ विकेट लिए । नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए ।

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए । शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।


सम्बन्धित खवर