काठमाडौं । जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्स शुरू भएको छ । यो नयाँ कोर्सको शिकार भविष्यमा कुन-कुन दल बन्छन्, अहिले नै अनुमान गर्न गाह्रो छ । तैपनि के चाहिँ अनुमान गर्न सकिन्छ भने ढिलोचाँडो रवि लामिछाने नेतृत्वको रास्वपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि विभाजित हुनेछन् । विभाजनको जोखिममा अन्य पार्टी पनि छन् । जसपा विभाजनको धेरैवटा अर्थ छ । यसको प्रभाव निकै ठूलो पर्ने देखिन्छ । जसपाको विभाजनसँगै एमाले र माओवादी गठबन्धनको विकल्पमा बहुमत जुटाउने नेपाली कांग्रेसको प्रयासमा अहिलेका लागि बिराम लागेको छ । सत्ताच्युत हुनुपरेकोमा कांग्रेसमा ठूलो निराशा थियो । त्यो निराशालाई चिर्न कांग्रेसले नयाँ सत्ता समीकरण निर्माणको प्रयास थालेको थियो । त्यो प्रयासमा पनि बिराम लागेपछि कांग्रेस समस्यामा फस्नु स्वाभाविक नै हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव र माधवकुमार नेपालले नयाँ ध्रुव बनाउने, पालो लगाएर प्रधानमन्त्री पद खाने योजना बुन्नुभएको खुलेआम नै देखिन्थ्यो । सत्ता गठबन्धनभित्र बसेर त्यही गठबन्धनमा प्वाल पार्ने प्रयत्न उपेन्द्र र माधवले गर्दै आउनुभएको थियो । यस्तो खुलेआम प्रयत्न गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट प्रतिरोध हुने अनुमान उपेन्द्र र माधवले गर्न नसक्नु अनौठो हो । जसपा विभाजनसँगै के प्रस्ट भयो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निकै गहिरो गठजोड भएको छ । उपेन्द्रको पार्टी विभाजनमा केपी र प्रचण्डले उत्प्रेरकको भूमिका खेलेको ओपन सेक्रेट हो । सरकारको रक्षाका लागि अर्को पार्टी फुटाइदिनेसम्मको साझा रणनीति केपी र प्रचण्डले अपनाएको देखिन्छ । यसबाट के अनुमान गर्न सजिलो भयो भने एमाले र माओवादीबीचको सत्ता साझेदारी कुनै पनि बेला टुट्न सक्छ भन्ने पूर्वानुमान गलत सावित भएको छ । केपी र प्रचण्डबीच बाहिर अनुमान गरिएभन्दा निकै गहिरो एकता भएको पनि प्रस्ट भएको छ । केपी र प्रचण्डबीचको यो एकता कांग्रेसका लागि पक्कै पनि चिन्ताजनक हो ।
जसपाबाट विभाजित भएको अशोक राईको समूहको भावी गन्तव्य के हो ? यो महत्त्वपूणर् प्रश्न हो । पहिलो गन्तव्य त सरकार नै हो । सरकारमा गतिलो भागसहित अशोक राईको समूह बस्नेछ भन्ने अनुमान लाउन गाह्रो छैन । तर, यतिले मात्र पुग्दैन, आउँदो चुनाव कसरी लड्ने यो यक्ष प्रश्न अशोक राई समूहसमक्ष हुनेछ । यो समूह सम्भवतः एमालेमै मिसिनेछ । तत्काल नमिसिए पनि केही समयपछि मिसिने नै छ । अशोक राई समूह एमालेमा मिसिँदैमा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने छैन । यसका लागि थप सांसद चाहिने छ । केपी ओलीले एमालेलाई सबैभन्दा ठूलो पार्टी बनाउने चाहना राखेको तथ्य लुकेको छैन । वर्तमान सत्ता समीकरण, कुर्सीको खेल वा केपी/प्रचण्डको चाहनाले मात्र जसपा फुटेको भने होइन, जसपा सधैँ अस्थिर पार्टी रहिआएको छ । अध्यक्ष उपेन्द्र यादवले जसपालाई पार्टी नभएर प्रालि जसरी चलाउँदै आएको देखिन्थ्यो । जसपा प्रालिबाट अशोक राईहरू ढिलोचाँडो फुट्नु नै थियो, विभाजनको दिन अहिले आयो । वर्तमान सत्ता समीकरण, कुर्सीको खेल वा केपी/प्रचण्डको चाहनाले मात्र जसपा फुटेको भने होइन, जसपा सधैँ अस्थिर पार्टी रहिआएको छ । अध्यक्ष उपेन्द्र यादवले जसपालाई पार्टी नभएर प्रालि जसरी चलाउँदै आएको देखिन्थ्यो । जसपा प्रालिबाट अशोक राईहरू ढिलोचाँडो फुट्नु नै थियो, विभाजनको दिन अहिले आयो ।
जसपाको विभाजनसँगै नयाँ सत्ता गठबन्धन बनाउने कांग्रेसको प्रयास असफल भएको मात्र छैन, प्रचण्ड नेतृत्वको सरकार धेरै हदसम्म सुरक्षित पनि भएको छ । अब माधव नेपाल नेतृत्वको पार्टी पनि विभाजनको संघारमा पुगेको छ । माधवको समाजवादी र रविको रास्वपा फरक-फरक कारणले विभाजित हुने देखिन्छ । यी दुई पार्टीको सम्भावित विभाजनका केही आधार ः माधवको पार्टीले गत आमचुनावमा राष्ट्रिय पार्टी बन्ने हैसियत राखेन, यसबाटै सो पार्टीको पतन शुरू भयो । चुनावपछिका दिनमा समाजवादी सत्ता राजनीतिमै केन्द्रित भयो, पार्टीको संगठन नै बनेन । केही थान मन्त्री पद पाउनु र माधव नेपालले प्रधानमन्त्री बन्न प्रयास गर्नु नै पार्टीको लक्ष्य, गन्तव्य र आदर्श बन्यो, जसका कारण कार्यकर्ता पंक्तिमा ठूलो निराशा छायो । यो निराशाका कारण समाजवादीका कार्यकर्ता ठूलो संख्यामा एमालेमै फर्किए । समाजवादी पार्टी विस्तारै सांसदहरूको क्लबजस्तो बन्दै गयो । आगामी दिनमा राजनीतिक भविष्य खोज्ने हो भने कतै न कतै जानुपर्छ भन्ने ध्येय समाजवादीका सांसदहरूले राखे । यही कारण समाजवादी विभाजनको संघारमा पुगेको छ । समाजवादीमा बसेर वर्तमान पनि धरापमा, भविष्य पनि धरापमा देखे यसका नेता कार्यकर्ताले । पार्टी फोरेरै एमालेमा जान पाए राम्रै स्वागत सत्कार हुन्थ्यो भन्ने विचार राख्ने समाजवादीका नेता कार्यकर्ता धेरै भेटिन्छन् ।
माधव नेपालले पार्टी विभाजन रोक्न सक्ने या नसक्ने अनुमान गर्न गाह्रो छ । अहिले माधवले विभाजन रोक्न सकेको अवस्थामा पनि त्यो तत्कालको समाधान मात्र हुनेछ । भविष्यमा पार्टी विभाजनको खतरा यथावत रहनेछ । रवि लामिछानेको रास्वपा पार्टी पनि ठूलो संकटबाट गुज्रिरहेको छ । यसमा पनि विभाजनका आधारहरू देखिन थालेका छन् । माधव र उपेन्द्र लगायतका नेताहरूको पार्टी विभाजनको मुख्य कारण सत्ता स्वार्थ नै हो, तर रविको पार्टी भने फरक कारणले विभाजित हुने देखिन्छ । रास्वपा रविकै व्यक्तित्व भजाएर खुलेको पार्टी हो । रविकै कारण यो पार्टी संकटमा छ । यो पार्टीमा अधिकांश नयाँ राजनीतिकर्मी छन्, अर्थात् अनुभवी छैनन् । विगतमा अन्य पार्टी तथा नेताहरूले गरेको गल्ती औंल्याएर तथा अरूलाई गाली गरेर यो पार्टीले आकार लिएको हो । विगतमा रविले अरूको गल्ती जसरी औंल्याएका थिए, अहिले ती गल्ती आफैं गर्दैछन् । लोकतान्त्रिक प्रणालीमा दल विभाजन सामान्य हो, तर नेपालमा दल विभाजनले अस्थिरता मात्र निम्त्याउने गरेको छ । विगतका दल विभाजनहरूले अस्थिरता नै ल्याएका छन् । अहिलेको विभाजनले केन्द्रदेखि सात प्रदेशसम्म अस्थिरता फैलिएको छ । आमचुनावपछिको दुई वर्ष नेपालमा निरन्तर राजनीतिक अस्थिरता छ । आगामी दिन पनि अस्थिर नै हुने चिन्ताजनक परिदृश्य देखिन्छ ।
रविको पार्टी पनि जसपाजस्तै प्रालि शैलीमा चलिरहेको छ । ठूलो आशा, उत्साह र उमंग बोकेर रास्वपामा लागेकाहरूलाई रविको यो शैली पच्न सक्ने कुरै भएन । ०८४ को चुनावमा राम्रो प्रदर्शन मात्र नभएर बहुमत नै ल्याउन सकिन्छ भन्ने आशा रास्वपाका नेता कार्यकर्तामा थियो तर सहकारी ठगी काण्डदेखि अनेक प्रकरणमा अध्यक्ष रवि नै मुछिएपछि रास्वपा ओरालो लागेको छ । इलाम उपचुनावमा रास्वापाले सम्पूणर् शक्ति लगाएको थियो । रास्वपाका अध्यक्ष रवि आफैं, मन्त्री, सांसद र सारा नेताहरू इलाममा केन्द्रित भएका थिए तैपनि रास्वपा उम्मेदवारको जमानत जफत भएको छ । रविको नेतृत्वमा ०८४ को चुनावमा बेहाल हुन्छ भन्ने विचार रास्वपाभित्र फैलँदैछ । रविको नेतृत्वमा बसेर सकिने कि सम्भावनाहरूलाई समातेर अघि बढ्ने भन्ने प्रश्न रास्वपाको पार्टी पंक्तिमा देखिएको छ । त्यसैले रास्वपा पनि ढिलोचाँडो फुट्ने सम्भावनालाई नकार्न सकिँदैन । लोकतान्त्रिक प्रणालीमा दल विभाजन सामान्य हो, तर नेपालमा दल विभाजनले अस्थिरता मात्र निम्त्याउने गरेको छ । विगतका दल विभाजनहरूले अस्थिरता नै ल्याएका छन् । अहिलेको विभाजनले केन्द्रदेखि सात प्रदेशसम्म अस्थिरता फैलिएको छ । आमचुनावपछिको दुई वर्ष नेपालमा निरन्तर राजनीतिक अस्थिरता छ । आगामी दिन पनि अस्थिर नै हुने चिन्ताजनक परिदृश्य देखिन्छ । नेपाल विगत तीन दशकभन्दा धेरै समयदेखि निरन्तर अस्थिर छ । अस्थिरताको आयाम संविधान फेर्नेसम्म विस्तार हुन दिन हुँदैन । बरु, संविधान संशोधन गरिनुपर्छ । निर्वाचन प्रणाली, संसद् र सरकारको बनोट सम्बन्धमा संविधान संशोधन गरेर अस्थिरताको उपचार खोज्न जरुरी छ ।