भिसा नपाउँदा नेपालमै रहेका सन्दीप लामिछानेले नेपाली टोलीलाई दिए शुभकामना


काठमाडौं । भिसा नपाउँदा टी२० विश्वकप गुमाएका लेग स्पिनर सन्दीप लामिछानेले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले नेपाली टोली बलियो रहेको बताउँदै आगामी यात्राका लागि शुभकामना दिएका हुन् ।

समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गर्न लागेको हो । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश पनि छन्।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो। पारस खड्काको कप्तानीमा सहभागीता जनाएको टिम समूह चरणबाटै बाहिरिएको थियो। तर, यसपटक भने नेपाली क्रिकेट टीमले विभिन्न अन्तर्राष्ट्रिय स्तरको म्याच खेलेका कारण यसपटक समूह चरणभन्दा अघि बढ्ने लक्ष्यसहित मैदान उत्रने सबैको अपेक्षा छ। त्यसका लागि आजको ऐतिहासिक खेललाई नै नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नुपर्नेछ ।

तर, नेपाललाई १० वर्षपछि दोस्रो पटक टि-२० विश्वकपमा छनौट गराउन सबैभन्दा बढी भूमिका निभाएका सन्दीपलाई नेपालस्थित अमेरिकी दूतावासले दोस्रोपटक पनि खाली हात नै फर्काइदिएपछि उनको पहिलोपटक विश्वकप खेल्ने सपना झण्डै सकिएको छ । उनी हाल नेपालमै छन् ।


सम्बन्धित खवर